लुम्बिनी परिसरभित्र गुम्बाको आवरणमा लक्जरीयस होटल , कोष बन्यो मुकदर्शक
बुटवल : गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरभित्र गुम्बा, विहार तथा मन्दिरको आडमा होटलहरु धमाधम बन्दैछन्।जापानी वास्तुकलाविद् केन्जो टाँगेले तयार पारेको गुरुयोजनालाई असर पुग्नेगरी लुम्बिनी परिसरभित्र होटलकै रुपमा भवन निर्माण भइरहेको छ। तर लुम्बिनी विकास कोष मुकदर्शक छ।
परिसरभित्र निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेका विहार र गुम्बालाई व्यवस्थित गर्न सञ्चालन मापदण्ड बने पनि त्यसविपरीत अहिले विभिन्न देशले संरचना बनाइरहेका छन्। सञ्चालन मापदण्ड विपरीत परिसरभित्र भवन बनिरहँदा कोषले कुनै ‘एक्सन’ लिएको छैन।
लुम्बिनीमा ३ देखि ७ सय जनासम्म क्षमताका गेष्ट हाउसको संरचना तयार भएका गुम्बाहरु संचालनमा छन्। कतिपयले होटलकै रुपमा भवन निर्माण गरेका छन्। लुम्बिनी परिसर बाहिर ठूला र स्तरीय होटल छन्। तर ती होटलमा पर्यटक छैनन्। लुम्बिनी परिसरभित्रका गुम्बा र विहारमा भने पर्यटक खचाखच हुने गरेका छन्।
लुम्बिनी परिसर भित्र रहेका गुम्बा र विहारहरूले धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नका लागि पाँच जना भिक्षु/भिक्षुणी ५ जना र उनीहरूको सहयोगीको रूपमा थप ५ गरी कुल १० जनालाई आवासमा राख्न पाउने लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली– २०५८ को विनियम ७ र १० मा उल्लेख छ।
त्यस्तै, विहार क्षेत्र विनियमावली, २०५८ मा रहेको प्रावधान अनुसार कुनै विदेशी मोनाष्टीमा आएर बसेको अवस्थामा कति दिन विदेशी मानाष्टीमा बस्ने हो, त्यसको जानकारी पनि सम्बन्धित विहारले कोषलाई जानकारी गराउनुपर्ने उल्लेख छ। तर विहारमा अहिले सम्झौता विपरीत संरचना निर्माण गरी दैनिक सयौँ पर्यटकहरूलाई राख्दै आइएको छ।
परिसरभित्रका गुम्बा र विहारले होटल सञ्चालन गरेको भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरूले यसबारे बर्षौंदेखि आवाज उठाउँदै आएका छन्। तर त्यसको सुनुवाई भएको छैन। कोषको बिहार क्षेत्रमा ४२ प्लट छन्, जसमध्ये एउटा प्लट लिजमा लिएर मलेसियाले होटलको संरचना निर्माण गरिरहेको छ। सुविधा सम्पन्न १ सय ५० कोठासहितको ६ तले भवन होटल प्रयोजनकै लागि मलेसियाले निर्माण गरेको हो।
त्यस्तै, बौद्ध धर्मगुरू श्याल्पा तेञ्जिङ रिन्पोछेले ५ अर्ब रुपैयाँको लागतमा विश्वशान्ति धाम निर्माण गरिरहेका छन्। ४४ मिटर उचाइको चारतले कमलको फूल आकारको निर्माण भइरहेको धामका लागि ६६ रोपनी जग्गा उपलब्ध गराइएको छ।
१ हजार ५ सय जना अट्ने शान्ति वार्ता हल, शान्ति संग्रहालय, शान्ति पुस्तकालय, प्रवचन कक्ष, ध्यान कक्ष, युनिभर्सल पिस इन्स्टिच्युट, रिट्रिट सेन्टर लगायतका संरचना बनाइँदैछ।
त्यस्तै, नेपाल थेरवाद विहार पनि हालै मात्र सञ्चालनमा आएको छ। १ करोड ९० लाखमा बनेको बिहारको केही दिनअघि उद्घाटन गरिएको थियो। श्रीलंकन, थाई, ब्रजयान विहारमा धेरै भिक्षुहरू बस्ने गरेका छन्। धर्मशाला बनेका गुम्बामा हरेक दिन २ हजार जति धार्मिक आस्थाले आउनेहरू पैसा तिरेरै बस्ने गर्छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत रहेको लुम्बिनीभित्र गुरुयोजना विपरीत संरचना बन्दा यसले लुम्बिनीको गरिमामा आँच आउने सरोकारवालाको चिन्ता छ। लुम्बिनी बचाउ अभियानका संयोजक रामविकास चौधरीले गुरुयोजना विपरीत होटल स्तरका संरचना निर्माण गर्दा लुम्बिनी विकास कोष र पर्यटन मन्त्रालय समेत आर्थिक प्रलोभनमा परेर मात्र सम्भव भएको आरोप लगाए।
‘कोभिडपछि लुम्बिनीका होटल धराशायी बनेका छन्। गुरुयोजना हेर्ने हो भने एउटा विहारमा ५ जना भिक्षु र ५ जना कामदार गरेर १० जना मात्र राख्न पाइन्छ। तर ७ सय क्षमताका होटल सञ्चालन हुँदा कोष रमिते बन्नुले आर्थिक लेनदेनमै यो भएको बुझ्न कठिन छैन,’ उनले भने।
चौधरीले गुम्बा र विहारहरूले कर तिर्न नपर्ने तर स्थानीयले सञ्चालन गरेका होटलले चाहिँ कर तिरेर चलाउनु परेको भन्दै स्थानीय होटलहरूले राज्यबाट संरक्षण नपाएको बताए।
पुरातत्वविद् वसन्त बिडारीले कोषकै मौन समर्थनमा मात्र परिसरभित्र संरचना बन्ने गरेको बताए। ‘नियमन गर्ने कोषले नै मौन समर्थन दिँदा उनीहरूले संरचना बनाइरहेका छन्,’ उनले भने।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र बिहार–गुम्बा निर्माण गर्न ९९ वर्षका लागि प्लट उपलब्ध गराइएको छ।लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी परिसर बाहिरका होटलहरू पर्यटक नहुँदा सुनसान भए पनि परिसरभित्र रहेका गुम्बा र विहारमा भने पर्यटकहरूको भीड हुने गरेको बताए।
‘ती भव्य भवनहरू स्टार होटेलभन्दा कम छैनन्। भित्र सस्तो मूल्यमा उनीहरू बस्न पाएका छन्। हामीले उनीहरुलाई व्यवसाय गर्ने हो भने बाहिर आउ, प्रतिस्पर्धा गर्न हामी तयार छौं भनेर भनेका छौ,’ उनले भने।
होटल व्यवसायीहरू आन्दोलित
लुम्बिनीमा निर्मित विभिन्न बिहार तथा गुम्बाले नियमविपरीत विहार परिसरमा गेष्ट हाउसको संरचना तयार पारि संचालनमा ल्याएको भन्दै लुम्बिनी होटल संघ नेपाल आन्दोलनमा उत्रिएको छ।
नियम विपरीत लुम्बिनीका गुम्बा तथा मन्दिरले गेष्ट हाउस संचालन गर्दा पनि लुम्बिनी विकास कोषका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले कुनै कारबाही नगरेकाले संघले यो आन्दोलन कोष विरुद्ध सुरू गरेको बताइएको छ।
होटल व्यवसायीले बिगत १२ बर्षदेखि राख्दै आएको मागप्रति कोषले बेवास्ता गरेको आरोप छ। लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले लुम्बिनी विकास कोषको पर्यटन व्यवसायप्रतिको वेवास्ता र अन्य गलत नीतिका कारण लुम्बिनी क्षेत्रको पर्यटकीय वातावरण बिग्रिँदै गएको बताए।
‘नियमविपरीत बिहार तथा मन्दिरहरूले गेष्ट हाउस निर्माण गरि संचालनमा ल्याएका छन् र निर्माणाधीन बिहारले पनि गेष्ट हाउस बनाउने क्रम जारी छ,’ ज्ञवालीले भने।
मोनाष्ट्री तथा बिहार बनाउन अनुमति दिने लुम्बिनी विकास कोष नियम विपरीतका निर्माण संरचना तयार पारि संचालनमा ल्याउँदा पनि मौन रहेको, अनुगमन र कारबाही गर्नेतर्फ कुनै चासो नदेखाएको उनको आरोप छ।
संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनीका बिहारमा पर्यटक राख्न मौन समर्थन गर्नु लुम्बिनी विकास कोषभित्र हुने गरेको भ्रष्टाचार भएकाले अविलम्ब बन्द गर्नुपर्ने बताए।
लुम्बिनीमा निर्माण गरिएका गौतमी भिक्षुणी बिहार, गोल्डेन ट्याम्पल म्यानमार, कम्बोडिया बिहार, महाबोधी सोसाइटी भारत, थाइल्याण्डको राजकीय बिहार, चिनियाँ बिहार, कोरियन बिहार, बज्रयान नेपाली बिहार, सिंगापुर बिहार लगायतले नियम विपरीत गेष्ट हाउसको निर्माण गरि संचालनमा ल्याएको दावी होटल व्यवसायीको छ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले व्यवसायीले दावी गरे जस्तो लुम्बिनी परिसर भित्रका गुम्बा र मोनाष्टीले व्यवसाय नगरेको दाबी गरे।
‘भित्र व्यवसायी गरेको प्रमाण भए ल्याउन भनेका छौं। उहाँले यदि व्यवसाय गरेको प्रमाण ल्याएमा दुवै पक्षलाई राखेर समाधान निकाल्छौं,’ उनले भने। उनले व्यवसायीहरूको मागप्रति आफूहरूले वार्ताबाट समाधान खोज्ने बताए।
व्यवसायीका अनुसार गोल्डेन टेम्पल म्यानमार, चाईना बिहारले २५०/२५० जना पर्यटकलाई राख्न मिल्ने गरी संरचना बनाएका छन्। कम्बोडियाको बिहारले २००, थाई विहार र कोरियन विहारले ३००/३०० पर्यटक राख्न सक्छन्।
महाबोधि सोसाइटी, क्यानेडियन विहार र क्यानेडियन विहार १२०/१२० पर्यटन राख्ने क्षमताका छन्। निर्माणाधीन अवस्थामा रहेका कर्मा साम्तेङ बिहार र क्वालाम्पुर बिहारले पनि ठूला भवनहरू बनाइरहेका छन्।
परिसरभित्र रहेका जापनिज स्तूपा, तारा फाउन्डेसन (जर्मन), फ्रान्सको बिहार, मनाङ समाज स्तूपा लगायतका गुम्बाले भने पर्यटक राख्दैनन्।
चैत १८, २०८० आइतबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।