प्रतिनिधिसभा बैठकमा झन्डै आधा दर्जन सम्भावित कार्यसूची, कांग्रेसले संसद चल्न देला?

प्रतिनिधिसभा बैठकमा झन्डै आधा दर्जन सम्भावित कार्यसूची, कांग्रेसले संसद चल्न देला?

काठमाडौं : संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन्।

भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा रहेको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैबीच, यस्तो अवस्थामा आजको संसद चल्नेमै अन्यौल देखिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आइरहेको छ। कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिनको माग पनि गरेको छ।

शनिबार सभामुखले प्रमुख दलका प्रमुख सचेतक/सचेतकहरुसँग गरेको  छलफलमा पनि यसबारे सहमति जुटेको छैन।

सभामुखले बोलाएको छलफलमा सहभागी सत्तारूढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतले गृहमन्त्री लामिछानेमाथि छानबिन समिति आवश्यक नरहेको बताएका थिए।

तर, संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै रहेको भन्दै कांग्रेस सचेतक सुशीला थिङले भनिन्, ‘समिति नबेनसम्म संसद अवरुद्ध गर्ने कि आफ्ना मत राखेर केही दिन सदन चल्न दिने दुई विकल्प छ। यसबारे भोलि (आइतबार) छलफल गर्छौं।’

त्यस्तै, शनिबार नै भएको शीर्ष तीन दलका नेताहरूबीचको छलफल पनि संसद अवरोध खोल्नेबारे सकारात्मक नभएको बताइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल टीआरसी विधेयकमाथि सकारात्मक भएको भएपनि संसद अवरोधका विषयमा कांग्रेस सभापति देउवा टसकोमस नभएको बताइएको छ।

चैत १८, २०८० आइतबार ०७:२६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।