'मुलुकका प्रमुख ६ पदमा दलीय बाँडफाँड मिलेकै छ, अझै राष्ट्रिय सहमतिको पहल गरिरहेको छु'

'मुलुकका प्रमुख ६ पदमा दलीय बाँडफाँड मिलेकै छ, अझै राष्ट्रिय सहमतिको पहल गरिरहेको छु'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलसँग राष्ट्रिय सहमति र समझदारीको वातावरण सृजनामा आफू जुटेको बताएका छन्।

रिपोर्टस् क्लब नेपालको २६ औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले देशको प्रमुख नेतृत्वमा सबै पार्टीलाई समेटिएकाले कहीँ न कहीँ राष्ट्रिय सहमति कायम गर्ने गरी नै पहल गरेको दाबी गरे।

सत्ता समीकरणका लागि गठबन्धन बनाउँदा सबैलाई रिझाउने प्रयास गरेको उनले बताए।

उनले भने, ‘मेरो कोसिस सकेसम्म सबै राजनीतिक दललाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो। हुन त कहिलेकाहीँ नेपाली कांग्रेससँग नजिक हुँदा एमालेका नेता साथीहरू र एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरूलाई नमीठो लागेकै छ, त्यो कुरा मैले बुझेको छु। तर, फेरि अहिले हामीले जेलाई बिग सिक्स भन्छौं, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष हामीले हेर्यो भने मलाई गर्व छ। कहीँ न कहीँ राष्ट्रिय सहमतिको वातावरण कायम गर्ने गरी नै हामीले पहल गरेका छौं।’

मुलुकका प्रमुख ६ पदहरुमा दलीय बाँडफाँट मिलेको भनाइ उनको थियो।

सञ्चार क्षेत्रका हकमा उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको उनले उल्लेख गरे।

उनले भने, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइने छ। आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ।’

राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्वलाई सबैले आत्मसात गर्नै पर्ने उनको भनाइ छ।

१७ चैत, २०८०, १८:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।