डा. गुणनिधिको उपचार अनुभव : हृदयघात भएका बिरामीको उपचार गर्दा पत्थरी भएका युवाले आकस्मिक कक्षमै गाली गरे
प्रसङ्ग करिब १८ वर्ष अघिको हो। डा. गुणनिधि शर्मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक कक्षमा कार्यरत थिए। त्यो बेलामा उनी एमबिबिएस अध्ययन सकेर काम गरिरहेका थिए।
त्यो बेलामा शिक्षण अस्पतालको आकस्मिक कक्षमा अहिलेको जस्तो पूर्वाधार थिएन।
डा. गुणनिधि आकस्मिक कक्षमा ड्युटीमा रहेको बेला एक करिब ६० वर्षका पुरुष हृदयाघातको समस्या भएर आएका थिए। अवस्था गम्भीर थियो।
डा. गुणनिधिको टिमले स्वास्थ्य परीक्षण गरेर पुरुषको उपचार खटिए।
उता हृदयाघातको समस्या भएका पुरुषको उपचार गरिरहेका बेला अर्का करिब ३० वर्षका युवा पनि छटपटिएर रुँदै, कराउँदै, चिच्याउँदै आइपुगे।
उनको ध्यान हृदयाघात भएका पुरुषतिर थियो। उनले अर्का युवालाई ‘एकै छिन पख्नु है, उहाँको एउटा काम सकिहाल्छु है’ भने। तर,युवाले गाली पो गर्न थाले।‘मेरो यस्तो बिजोग भएको छ। म मर्न लागिसकेँ। किन मलाई हेर्नुहुन्न?’ भन्दै कराउन थाले।
डा. गुणनिधिले नम्र स्वरमा अर्का बिरामीको अवस्था बुझाउन ‘म (हृदयाघात भएका बिरामीलाई) एउटा औषधि लेख्दैछु। एक्कै छिनमा तपाईँलाई हेर्छु है’ भने। तर ती युवा आकस्मिक कक्षमा चिच्याउँदै कराउन छाडेनन्।
धेरै नै चिच्याएपछि उनले ती युवालाई ‘तपाईँलाई के भएको छ?’ भनेर सोधे। युवाले सहनै नसक्ने गरी पेट दुखेको भन्दै रोए। ती युवालाई मूत्र नलीमा पत्थरी भएको हुनसक्ने र त्यही पत्थरीका कारण पेट दुखेको हुनसक्ने अनुमान लगाए।
उनलाई तुरुन्तै दुखाई कम गर्ने औषधी लेखिदिएर ल्याउन अनुरोध गरे। तर, ती युवाले ‘नजाँचीकन औषधी ल्याउन लगाउने?’ भन्दै गाली पो गरे। सम्झाई बुझाई गरेपछि बल्ल ती युवासँगै आएका आफन्त फार्मेसिमा औषधि लिन गए। नर्सले दुखाई कम गर्ने औषधि दिएर आराम गर्न लगाइन्। गुणनिधि यता हृदयाघात भएका पुरुषको उपचारमा केन्द्रित भइसकेका थिए। उनलाई
अस्पतालमा भर्ना गरियो। र, थप उपचार सुरु भयो। हृदयाघात भएका पुरुषको ज्यान जोखिममुक्त भएपछि उनी चिच्याउँदै कराएर आकस्मिक कक्षमा आएका युवा भएतिर गए। उनको स्वास्थ्य परीक्षण गरे। नभन्दै ती युवामा पत्थरी नै भएको रहेछ।
त्यो दुखाइकै कारण युवाको तत्काल स्वास्थ्य जटिलता निम्तने र मृत्यु भइहाल्ने जोखिम नदेखेरै उनी ह्दयघात भएकाको उपचारमा केन्द्रित भएका थिए।
उनले आकस्मिक कक्षमा भएका बिरामीको अवस्था अनुसार तत्काल उपचार अगाडि नबढाउँदा मानवीय क्षति हुनसक्नेलाई प्राथमिकता दिनेबारे बिस्तारै बताए।
‘तपाईँको ज्यान तत्काल जोखिममा नदेखिएकैले उहाँलाई उपचारमा प्राथमिकता दिएको’ भनेपछि ती युवाले ‘डाक्टर साप म पनि असह्य दुखाइको पिडामा भएकाले मर्छु कि जस्तो लागेर रिसाएको थिएँ, त्यसैले के के भनेहुँला, माफ गर्नुहोला’ भन्दै माफी मागे।
ती युवालाई अस्पतालमा भर्ना गर्नु परेन। पत्थरीको थप उपचारका लागि डा. गुण निधिले प्रक्रिया अगाडी बढाइदिए। ती युवा फर्किए।
आकस्मिक कक्षमा पुग्ने अधिकांश बिरामीलाई आफ्नो अवस्था जोखिमयुक्त नै लाग्ने र जोखिममुक्त छ कि छैन सो छुट्ट्याउने काम चिकित्सकको भएको उनले सुनाए।
'यसमा शान्त स्वभाव, तुरुन्त निर्णय लिन सक्ने र बिरामीलाई सम्झाउन सक्ने कला चिकित्सकमा चाहिन्छ,' उनले भने' बिरामी के भएर आएको हो त्यसको आधारमा प्राथमिकता निर्धारण गर्न सक्नुपर्छ।'
अघिल्लो दिन आक्रामक, भोलिपल्ट माफी
शिक्षण अस्पतालको आकस्मिक कक्षमा मानसिक समस्या भएका एक युवालाई उपचारका लागि ल्याएको प्रसङ्ग पनि डा. गुणनिधि सम्झन्छन्। करिब ३० वर्ष जतिका एक युवालाई १२-१५ जना व्यक्तिले समातेर अस्पतालको आकस्मिक कक्षमा पुर्याएका थिए।
ती युवा मुखमा जे आयो त्यही बोल्ने, जसलाई भेट्यो उसैलाई चिच्याउँदै गाली गर्ने, पिट्ने गर्थे। रोगका कारण ती युवाको स्वभाव आक्रामक भएको थियो। त्यो बेला हालका स्वास्थ्य सचिव डा. रोशन पोख्रेल पनि महाराजगन्ज चिकित्सा क्याम्पसमा मनोचिकित्सक विषयमा एमडीमा अध्ययनरत थिए।
नभन्दै गुणनिधिले डा. रोशनलाई फोन गरेर बिरामीको अवस्थाबारे बताए। त्यसपछि डा. रोशन आएर आकस्मिक कक्षमा ती युवाको उपचार थाले। उपचार थालेको केही बेरमा ती युवा शान्त भइहाले। भोलिपल्ट ती युवाले डा. गुणनिधिलाई भनेछन्,‘डाक्टर साप हिजो मैले केही थाहा पाइन। के के भयो, के के भनियो।’ जवाफमा उनले भने,‘त्यो त तपाईँको स्वास्थ्य समस्या थियो, खुसीको कुरा तपाईँको स्वास्थ्य समस्या समाधान भयो।’
दुई दिन उपचारपछि ती युवाको समस्या केही ठिक भयो। त्यसपछि फलोअपमा आउनेगरी ती युवालाई डिस्चार्ज गरियो।
आधि मास्क सारेर जुस स्वाट्टै पिउँदा
उकेराको नियमित कोलम डाक्टरको सुख दुखका लागि उकेराकर्मीसँग कुराकानी गर्दा उनले अब्खाजिया मुलुकमा काम गर्दाको प्रसङ्ग पनि सम्झिए। प्रसङ्ग करिब १९ वर्ष अघिको हो, जतिबेला डा. गुणनिधि एउटा फ्रेन्च संस्थाबाट जर्जिया र अब्खाजियामा काम गर्न पुगेका थिए। अब्खाजियामा विशेषगरी क्षयरोगका बिरामीको औषधि उपचारमा गर्नु उनको जिम्मेवारी थियो।
अब्खाजियाका एक जोडी श्रीमान-श्रीमतीलाई कडा किसिमको क्षयरोग भएछ। ती क्षयरोगी श्रीमान् करिब २८ वर्ष र श्रीमती २७ वर्षका थिए। ती जोडीमध्ये एउटालाई भएको क्षयरोग अर्कोलाई सरेछ।
अब्खाजियामा काम गर्ने सिलसिलामा एक दिन एक जना अमेरिकी फिजिसियन, नर्स र उनी क्षयरोगको समस्या भएका श्रीमानश्रीमतीको उपचारका लागि घरैमा गए।
कडा अनि सितिमिति औषधीले पनि नभेट्ने किसिमको क्षयरोग भएकाले अन्य बिरामी भएको ठाउँमा राखेर उपचार गर्दा क्षयरोग अरूलाई सर्ने जोखिम थियो। त्यसैले तीनै जनाले एन–९५ मास्क लगाएर उनीहरूको घरमा गएका थिए।
युवाका बुवा आमाले उपचार गर्न पुगेका उनीहरू तीनै जनालाई जुस ल्याएर दिए।
अब तीनै जनालाई त्यो जुस पिउने की नपिउने भन्ने दुबिधा भयो। श्रद्धापूर्वक दिएको जुस नपिऊँ अपमान गरेको जस्तै हुने भयो, जुस पिऊँ मास्क खोलेर पिउँदा रोग सर्ने जोखिम।
तीनै जनाले मुखामुख गरे। अनि मुखको भागको मात्रै मास्क माथि सारेर स्वाट्टै जुस पिएर हतार-हतार मास्क लगाए। उपचारपछि चिकित्सकको टिम फर्कियो। पढ्दा सामान्य लाग्ने तर जटिल समस्याहरू आइरहन्छन् उपचारकोक्रममा। त्यसैले उनी अहिले पनि त्यो घटना सम्झन्छन्।
हेलिकप्टर ल्यान्ड नहुँदा भर्याङबाट झरेपछि...
२०७१ को घटना हो यो। त्यो बेलामा उनी विश्व स्वास्थ्य सङ्गठनको कर्मचारीको रूपमा विशेषगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा काम गर्थे।
चैतको अन्तिमतिरको घटना हो यो। त्यो बेला जाजरकोटमा मौसमी इन्फ्लुइन्जा (फ्लु) को प्रकोप फैलियो। विश्व स्वास्थ्य संगठनकोतर्फबाट डा. गुणनिधि जाजरकोटमा खटिए।
तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको टिम सहित उनी पनि विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट सेनाको हेलिकप्टरमा जाजरकोट पुगे।
हेलिकप्टर जाजरकोटको तत्कालीन सक्ला गाविसको लोहागमा पुग्यो। तर, अप्ठेरो ठाउँ भएकाले त्यहाँ हेलिकप्टर ल्याड नै हुन सकेन। हेलिकप्टर ल्यान्ड गर्न नसकेपछि भर्याङ लगाएर डा. गुणनिधि हेलिकप्टरबाट झरे।
औषधीका पोका पनि हेलिकप्टरबाट फालेर भुईँमा झारियो। मन्त्रीसहितको टिम भएको हेलिकप्टर ल्यान्ड नगरी फर्कियो। उनले लोहाग भन्ने ठाउँ यस्तो भिरालो देखे की स्टेचरमा राखेर बिरामी बोक्न समेत कठिन देखियो।
डा. गुणनिधि एक्लै हेलिकप्टरबाट झरेर उपचारका लागि गाउँ छिरे। फ्लुका कारण मृत्यु भइरहेको थियो। उनले सुरुवाती चरणमा विशेषगरी फ्लुका कारण स्वास्थ्य अवस्था जटिल भएका बिरामीलाई प्राथमिकता दिँदै घर-घरमा पुगेर बिरामी जाँच्ने अनि उपचार गर्ने काम गरे।
त्यहाँ एक हप्ता बसेर स्वास्थ्य परीक्षण गर्दै उपचार गरे। बेलैमा पुग्दा धेरैको ज्यान जोगियो। फर्कँदा भने उनी जाजरकोट सदरमुकामसम्म हिँडेरै आए।
डा. गुणनिधि काठमाडौँमा फर्किएको करिब चार दिनमा २०७२ वैशाख १२ गते भूकम्प गयो। भूकम्प गएको भोलिपल्ट आफूले फ्लुको उपचार गरेर फर्किएको जाजरकोटको लोहागका एक जना पुरुषले फोन गरेर,‘ तपाईँको अवस्था कस्तो छ?’ भनेर सोधे। आफूले उपचार गरेर फर्किएको गाउँका व्यक्तिले सम्झँदा उनी खुसी भए।
भूकम्पपछि उनी विश्व स्वास्थ्य सङ्गठनकै जागिरेका रूपमा तथ्याङ्क सङ्कलन, विश्लेषण जस्ता काममा खटिएका थिए।
दुर्गमका गुणलाई डाक्टरी रहर
गुणनिधि बागलुङको तत्कालीन ग्वालिचौर गाविसको वडा नं. ८ को दाँगामा जन्मिएका हुन्। उनले स्थानीय भानु माविबाट २०४६ मा एसएलसी उत्तीर्ण भएपछि काठमाडौँ आए।
उनलाई खासमा ओभरसियर पढेर इन्जिनियर बन्ने रहर थियो। तर, साथीभाइको प्रभाव र सल्लाह अनुसार उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानमा चिकित्सा शास्त्रमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन सुरु गरे।
अध्ययनपछि गुणनिधिले विभिन्न सरकारी तथा गैह्र सरकारी स्वास्थ्य संस्थामा काम गरे। उनले तनहुँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, इन्स्टिच्युट कम्युनिटी हेल्थ, क्युंग हि नेपाल हेल्थ सेन्टर, न्यु एरा र अमेरिकन पिसकोरमा समेत काम गरे।
गुणनिधिलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले केही सरकारी तथा गैह्र सरकारी स्वास्थ्य संस्थामा काम गरेको अनुभव बटुलेपछि उनले एमबिबिएस अध्ययन गर्ने निर्णय गरे।
उनी २०५५ मा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज चिकित्सा क्याम्पसमा एमबिबिएस अध्ययनका लागि भर्ना भए। सन् २०६१ मा उनको एमबिबिएस पूरा भयो।
एमबिबिएस अध्ययन गर्नासाथ डा. गुणनिधिले त्रिवि शिक्षण अस्पतालको आकस्मिक विभागमै करार जागिरेका रूपमा काम गर्न थाले। उनले करिब एक वर्ष अस्पतालको आकस्मिक कक्षमा खटिएर काम गरे।
शिक्षण अस्पतालपछि हेटौँडामा कार्यालय भएको एक संस्थाको एचआइभी तथा एड्सको रोकथाम सम्बन्धी कार्यक्रममा इटहरीलगायत देशको विभिन्न ठाउँमा गएर उनले करिब डेढ वर्ष काम गरे। त्यो संस्थाले विभिन्न ठाउँमा मोबाइल क्लिनिक सञ्चालन गर्थ्यो। त्यो संस्था अन्तर्गत रहेर काम गर्दा विशेषगरी जोखिम समूह लक्षित गरी सम्भावित यौन रोग लगायतको विषयमा स्वास्थ्य परीक्षण, औषधी, उपचार जस्ता कार्यक्रम गर्थे उनी।
त्यसपछि उनले सन् २००५ तिर एक फ्रेन्च संस्थामा एसिस्टेण्ट मेडिकल कोर्डिनेटरका रूपमा काम करिब एक वर्ष काम गरे। काठमाडौँमा त्यसको अफिस भए पनि बेलाबेलामा उनी रुकुममा पुगेर पनि काम गर्थे। त्यो बेला तत्कालीन विद्रोही माओवादी र सरकारबीच सशस्त्र द्वन्द्व चलिरहेको अवस्था थियो। जसले गर्दा ओहोरदोहोर गर्न निक्कै कठिन हुन्थ्यो।
सन् २००८ देखि इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन नामक संस्थामा माइग्रेसन हेल्थ फिजिसियनका रूपमा उनले काम गरे।
त्यो संस्थामा हुँदा डा. गुणनिधिले विशेषगरी झापाको दमकस्थित कार्यालयमा भुटानी शरणार्थीको तेस्रो मुलुकमा जानु पूर्व स्वास्थ्य परीक्षण गर्ने काम गरे। त्यहाँ उनले तेस्रो देशमा पुन स्थापित हुन लागेका भुटानी शरणार्थीको स्वास्थ्य परीक्षण तथा औषधी, उपचारको काम गरे। दुई पटकमा गरेर करिब चार वर्ष उनले त्यो संस्थामा काम गरे।
तेस्रो मुलुकमा पुन स्थापित हुने भुटानी शरणार्थीको चिकित्सकका रूपमा काम गरेपछि अर्को फ्रेन्च संस्थाबाट डा. गुणनिधि जर्जिया र अब्खाजियामा काम गर्न पुगे। निक्कै सुन्दर ठाउँ अब्खाजियामा त्यो बेला द्वन्द्व भएको उनले सुनाए। त्यहाँ करिब एक वर्ष काम गरेर उनी नेपाल फर्के।
डा. गुणनिधिले थप अध्ययन गर्न सन् २०११ मा नेदरल्याण्डको रोयल ट्रपिकल इन्टिच्युडमा पुगे। त्यहाँ उनले स्नातकोत्तर तहको जनस्वास्थ्य (मास्टर्स इन् पब्लिक हेल्थ-एमपीएच) अध्ययन गर्न थाले। एमपीएच अध्ययन गरेर नेपाल फर्केपछि उनी इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन नामक संस्थामा माइग्रेसन हेल्थ फिजिसियनका रूपमा काम गरे। त्यो संस्थामा उनले उही पहिलेकै जस्तो झापाको दमकस्थित कार्यालयमा दुई वर्ष काम गरे। त्यसपछि विश्व स्वास्थ्य सङ्गठनमा काम गर्न थाले।
विश्व स्वास्थ्य सङ्गठनमा काम गर्दा उनको जिम्मेवारी विशेषगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सहयोग गर्ने थियो।
लोकसेवा परीक्षामार्फत उनी २०७२ मा नवौँ तहको स्वास्थ्य प्रशासकका रूपमा सरकारी सेवामा प्रवेश गरे। सुरुमा त विश्व स्वास्थ्य सङ्गठनको जागिर छोडेर सरकारी जागिर खाने की नखाने भन्ने द्विधा थियो रे। तर, उनले सरकारी जागिर खाने नै निर्णय गरे।
सरकारी जागिरे भएपछि टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा नै उनको पोस्टिङ भयो। त्यो बेला डा. गुणनिधिले विभिन्न रोगका महामारी तथा प्रकोपलगायत रोगको विषयमा कामको अनुभव बटुले। इडिसिडिमा करिब दुई वर्ष काम गरेपछि सरुवा भएर उनी रसुवाको जिल्ला अस्पताल पुगे। त्यहाँ उनले अस्पताल र स्वास्थ्य कार्यालयको प्रमुखको भूमिकामा केही समय काम गरे।
त्यसपछि सरुवा भएर २०७५ मा स्वास्थ्य मन्त्रालयमा सरुवा भएर काम गर्न थाले। उनले मन्त्रालयको नीति योजना तथा योजना शाखामा पाँच वर्ष काम गरे। विभिन्न नीति नियम बनाउने काममा उनको सक्रिय भूमिका रह्यो। त्यसपछि उनलाई केही महिनाअघि मन्त्रालयले सरुवा गरेर इडिसिडी पठाएको छ। हाल उनी इडिसिडिमा नै कार्यरत छन्। उनी बढुवा हुँदै १०औँ तहको वरिष्ठ स्वास्थ्य प्रशासकका रूपमा कार्यरत छन्।
चैत १७, २०८० शनिबार १७:५३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।