‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ, कसैले रिस गरे पनि माओवादी एक हुन्छ, बनाइन्छ’

‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ, कसैले रिस गरे पनि माओवादी एक हुन्छ, बनाइन्छ’

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै माओवादीहरू एक भएरै छाड्ने दाबी गरेका छन्।

शनिबार ‘२४ औं जेलब्रेक स्मृति दिवस’मा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा गलत तत्वहरूको हातमा सुम्पिन नसक्ने भन्दै रिस र आलोचना गरे पनि एक दिन माओवादी एक भएरै छाड्ने दाबी गरेका हुन्।

उनले भने, ‘हाम्रो देशलाई कुनै पनि हालतमा गलत तत्वहरूको हातमा सुम्पिन सकिँदैन। अहिले समाजवादी मोर्चा पनि बनेको छ। हाम्रै पहलमा हाम्रो राम्रो छलफल पनि चलेको छ। माओवादी त छँदै छ। माओवादी त एक हुन्छ। एक दिन माओवादी एक भइछाड्छ, यो कसैले रिस गरे पनि आलोचना गरे पनि यो एक हुन्छ, बनाइन्छ।’

उनले हिजो जेल तोड्नेहरूले आज साम्राज्यवादी र दलालीहरूको खेल तोड्न आवश्यक रहेको बताए।

उनले भने, ‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ। साम्राज्यवादी र दलालीहरूको खेल तोड्नु छ। हिजो सामन्तवाद र दलालको जेल तोडियो आज यिनीहरूले भयङ्कर गर्दै छन्। नेपालको इतिहासले हामीलाई एक ठाउँमा ल्याइसकेको छ। जनताले हामीलाई हेरेका छन्। अब हामीले नयाँ तरिकाले समीक्षा गर्ने बेला आएको छ। जिम्मेवारी लिने बेला आएको छ।’

महासचिव विप्लवले एमाले र कांग्रेसभित्र पनि माओवादी धारका नेताहरु रहेको भन्दै माओवादी एक्लै नभएको दाबी गरे।

चैत १७, २०८० शनिबार १७:२४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।