आयरल्यान्डविरूद्व नेपालको लगातार दोस्रो हार, सिरिज पनि गुमायो

आयरल्यान्डविरूद्व नेपालको लगातार दोस्रो हार, सिरिज पनि गुमायो

काठमाडौं : टी-२० शृंखला अन्तर्गत नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा नेपाल ४० रनले पराजित भएको हो।

योसँगै आयरल्यान्डले २-० ले शृङ्खला आफ्नो पक्षमा पारेको छ।

२ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो।

नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए। बमले १३ बलमा २५ रनको विस्फोटक इनिङ्स खेले। उनले ३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए। उनले ७ चौका हिर्काए।

कप्तान विनोद भण्डारीले १३ बलमा एक चौका र ३ छक्का हिर्काउँदै २६ रनको योगदान दिए।

मध्य क्रममा बासिर अहमदले २३ बलमा २७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन्।

आयरल्यान्डका लागि बेन ह्वाइटले ४ ओभरमा २९ खर्चेर ३ विकेट लिए।

त्यस्तै, फियोन ह्याण्ड र थोमस मोयसले २/२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो।

आयरल्यान्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले। उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए।

कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेले। उनले एक चौका र ७ छक्का प्रहार गरे।

त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए।

नेपालका लागि सागर ढकालले ३ विकेट लिए। उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए।

त्यस्तै, कमल ऐरी र पवन शर्राफले एक/एक विकेट लिए।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्यान्डसँग २१ रनले पराजित भएको थियो।

चैत १७, २०८० शनिबार १६:५५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।