यू-१९ टिमका 'फ्लप ब्याटर' लोकेशले जब टीयू मैदानमा शतक हाने...

यू-१९ टिमका 'फ्लप ब्याटर' लोकेशले जब टीयू मैदानमा शतक हाने...

काठमाडौँ : आयरल्यान्ड ए विरुद्ध शुक्रवार टीयू मैदानमा भएको पहिलो टी–२० मा ओपनिङ गरेका लोकेश बमले ५६ बलमै एक सय ६ रन बनाए। त्यसमा समावेश थियो ९ चौका र ८ छक्का।

आयरल्यान्ड ए विरुद्ध मैदानमा उत्रिएको नेपाल ए ले जितका लागि २ सय २३ रन बनाउन आवश्यक थियो। बमको विस्फोटक ब्याटिङले जीत सम्भव देखाइरहेको थियो। तर मध्यक्रमको ब्याट्यम्यानहरु सम्हालिन नसक्दा नेपाल ए १९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रनमै प्याक भयो।

खेलको नतिजा टिमको पक्षमा आएन। तर युवा ब्याट्सम्यान लोकेश क्रिकेट प्रेमी र मिडियाको नजरमा पर्न सफल भए। खेलबारे अधिकांश मिडियाको हेडलाइन बन्यो' लोकेशको शतकपछि पनि पराजित भयो नेपाल ए।'

धनगढी क्रिकेट एकेडेमीबाट व्यावसायिक क्रिकेट खेल सुरु गरेका उनी अहिले विभागीय टोली एपिएफ क्लबमा आबद्ध छन्। एपिएफ अगाडि उनी अर्को विभागीय टोली आर्मी क्लबमा थिए।

लामो सट खेल्ने उनी यू-१९ टिममा रहँदा भने त्यति जमेका खेलाडी हैनन्। उनका लागि प्रधानमन्त्री कपको प्रदर्शन खेल यात्राको टर्निङ पोइन्ट बनेको थियो। त्यहीबाट उनको प्रवेश राष्ट्रिय टिममा भएको थियो।

प्रधानमन्त्री कपको सेमिफाइनलमा उनले त्रिभुवन आर्मी क्लबविरुद्ध अविजित ६६ रन बनाएर त्यो बेलाका राष्ट्रिय क्रिकेट टिमका कोच पुभुदु दासनायकेको नजरमा परेका थिए।

उनी यू–१९ राष्ट्रिय प्रतियोगिताका भने असफल खेलाडी हुन्। नेपालबाट तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि उनले खेल कौशल देखाउन सकेका थिएनन्।

उनलाई घरेलु प्रतियोगिता नै फाप्यो बरु। जसले उनलाई राष्ट्रिय टोलीभित्र प्रवेश गरायो। आर्मीले एक दिवसीय संरचनाको प्रधानमन्त्री कप जित्दा पनि उनी सदस्य थिए। एपीएफले ट्वान्टी–२० संरचनाको प्रधानमन्त्री कप जित्दा लोकेश एपिएफमा आबद्ध भइसकेका थिए।

२०२२ फेबुअरीमा युएईविरुद्ध चार देश सम्मिलित टी–२० आई सिरिजबाट डेब्यू गरे पनि एकै लयको खेलको अभावमा छाँयामा परेका उनी शुक्रवारको विस्फोटक ब्याटिङबाट क्रिकेट प्रेमीको नजरमा पर्न सफल भए। उनको समस्या एकै लयमा खेल्न नसक्नु नै हो। यसमा अब सुधार होला कि!

चैत १६, २०८० शुक्रबार २२:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।