अन्तर्राष्ट्रिय लगानी बढाउन दोहोरो कर प्रणालीको समस्या सम्बोधन गर्छौँ : मन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय लगानीलाई प्रोत्साहित गर्न दोहोरो कर प्रणालीसहितका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालका लागि बेलायतका राजदूत रब फेनसँगको भेटमा अर्थमन्त्री पुनले दोहोरो कर प्रणालीसहित अन्तर्राष्ट्रिय लगानीकर्ता र विकास साझेदारले उठाउँदै आएका सवाल सम्बोधन गरिने प्रतिबद्धता जनाएका हुन्।
अन्तर्राष्ट्रिय लगानीकर्ता र विकास साझेदारले उठाउँदै आएका सवाललाई लिएर वैदेशिक लगानीको वातावरण बनाउन एक दर्जन बढी कानून संशोधनको प्रक्रिया अघि बढाइएको उनले बताए।
दोहोरो कर प्रणालीसम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न राजदूत फेनले गरेको आग्रहमा अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
उनले लगानी सम्मेलन सफल पार्न आफूहरूले काठमाडौंस्थित अन्य मुलुकका नियोग प्रमुखहरूसँग पनि छलफल र समन्वय गरिरहेको जानकारी समेत दिए।
‘बेलायती लगानीकर्ताको उच्चस्तरीय टोली लगानी सम्मेलनमा आउँदैछ,’ उनले भने, ‘हामी लगानी सम्मेलन सफल पार्न सक्रिय भएर लागेका छौं।’
राजदूत फेनले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र बञ्चितीकरणमा परेका समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।
मन्त्री पुनले बेलायत नेपालको पुरानो मित्र र महत्वपूर्ण वैदेशिक साझेदार चर्चा गर्दै हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिए।
उनले बेलायतले नेपालमा गर्दै आएको लगानी बढाउने अपेक्षा लिइएको बताए। जवाफमा राजदूत फेनले त्यसका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए।
चैत १५, २०८० बिहीबार १२:४४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।