आईपीएल : मुम्बईमाथि हैदरावादको शानदार जित, बन्यो यी चार रेकर्ड

आईपीएल : मुम्बईमाथि हैदरावादको शानदार जित, बन्यो यी चार रेकर्ड

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चार कीर्तिमान बनाउँदै हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्समाथि सनराइजर्स हैदरावादले ३१ रनको जित निकालेको छ।

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन बनायो।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६४ रनको योगदान गरे। उनले  त्यस्तै टिम डेविड ४२ र रोमारियो सेपहर्ड १५ रनमा अविजित रहे।

नमन धिरले ३० रनको योगदान गर्दा इशान किसन ३४ रनमा आउट भए। रोहित शर्मा २६ र कप्तान हार्दिक पाण्ड्या २४ रन बनाउँदै पेभिलियन फर्किएका थिए।

मुम्बईलाई रोक्न हैदराबादका लागि जयदेव उनाडकर्ड र कप्तान प्याट कमिन्सले दुई दुई विकेट लिँदा एक विकेट शाहबाज अहम्मदले लिए।

त्यसअघि घरेलु टोलीले ३ विकेट गुमाएर २७७ रन बनाएको थियो। उक्त लक्ष्य आईपीएल इतिहासकै सर्वाधिक ठुलो लक्ष्य हो।

यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुने वारियर्स इन्डियाविरुद्ध २६३ रन बनाएको थियो।

हैदराबादका लागि हेनरिक क्लेसन, अभिसेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाए।

शर्माले ६३ रन बनाए भने ओपनर हेडले  ६२ रनमा आउट भए।  दोस्रो विकेटका लागि शर्मा र हेडले २३ बलमा ६८ रनको सानदार साझेदारी गरे। ​

क्लेसनले ३४ बलमा ४ चौका र ७ छक्काको सहयोगमा अविजित ८० रन बनाए। एडेन माक्ररमले अविजित ४२ रन बनाए। क्लेसन र माकरमले ५५ बलमा अविजित १ सय १६ रनको साझेदारी गरे। 

मुम्बईका लागि हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १–१ विकेट रह्यो।

जितसँगै हैदराबादले पहिलो दुई अंक जोडेको छ। मुम्बईको भने यो लगातार दोस्रो हार हो। प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमने सामने हुनेछन्।

के–के बन्यो चार कीर्तिमान?
यस खेलमा सबैभन्दा उच्च स्कोर बनेको छ। यसअघि रोयल च्यान्लेन्जर्स बैंग्लोरले बनाएको २६२ रनको योगफलको कीर्तिमान तोड्दै हैदरावाले यस खेलमा २७७ रन बनायो।

यसका अतिरिक्त आईपीएल खेलमा सबैभन्दा बढी छक्का लगाउने खेल पनि यहि बनेको छ। यस खेलमा ३८ छक्का लागेको छ। यसअघि एक खेलमा बढीमा ३३ छक्कासम्म लागेको थियो।

त्यसैगरी दुई टोलीबीचको स्कोरको योगफलको रेकर्ड पनि यहि खेलले तोडेको छ। यस खेलमा दुई टोलीबीचको रनको योगफल ५२३ हो। यसअघि सन् २०१० मा भएको आईपीएलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच भएको खेलमा रनको योगफल ४६९ रन थियो।

त्यसैगरी हैदरावाद र मुम्बईबीचकै खेलमा चार खेलाडीले २५ भन्दा कम बलमा अर्धशतक बनाएका छन्। यो पनि अहिलेसम्म १७ वर्षको आईपीएलको इतिहासमा भएको थिएन।

चैत १५, २०८० बिहीबार ०७:३०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।