होली खेलेर सुनकोसी नदीमा नुहाउन गएका तीन बालबालिका मृत भेटिए

होली खेलेर सुनकोसी नदीमा नुहाउन गएका तीन बालबालिका मृत भेटिए

काठमाडौं : गत आइतबार होली खेलेर नुहाउन सुनकोसी नदीमा जाँदा डुबेर बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन्।

सुनकोसी नदीमा नुहाउँदै गर्दा डुबेका त्रियुगा नगरपालिका-१४ साउनेका तीन बालबालिकाको शव भेटिएको हो।

त्रियुगा-१४ का वडाध्यक्ष हिमराज मगरका अनुसार बेपत्तामध्ये २ जनाकाे शव बुधबार ८ घण्टाको फरकमा भेटिएकाे हाे भने १ जनाकाे शव अघिल्लो दिन दिउँसो भेटिएकाे थियाे।

बुधबार दिउँसो ३ः३० बजे १२ वर्षीय लोकबहादुर मगर र बिहान ७ः३० बजे १२ वर्षीया रेखा मगरकाे शव भेटिएकाे हाे।

लोकबहादुरकाे शव घटनास्थलदेखि अढाइ किलोमिटर तल कम्पुघाटमा नदी किनारमा तैरिरहेको अवस्थामा भेटिएको वडाध्यक्ष मगरले बताए।

मृत भेटिएका तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि उदयपुर जिल्ला अस्पताल गाईघाट पुर्याइएको छ। पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आइतबारको होलीमा बिहानैदेखि रङ खेल्न थालेका उनीहरू नुहाउन भन्दै घरदेखि ६ किलोमिटर तल धाब्लाङघाट पुगेका थिए। नदीमा नुहाउँदै गर्दा पानीको भुमरीमा परेर डुबेका उनीहरू निस्कन नसकेर बेपत्ता भएका थिए।

चैत १४, २०८० बुधबार १८:५२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।