नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने, पार्टीको बैठकमै गएनन् रेशम

नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने, पार्टीको बैठकमै गएनन् रेशम

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले संघीय सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो।

संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माका अनुसार बैठकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको हो।

नाउपाका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ। 

२१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए। बैठकमा संस्थापक रेशम चौधरी सहभागी थिएनन्। 

यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाएकी थिइन्।

१४ चैत, २०८०, १६:२०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।