एसीसीकाे निर्णयपछि नेपालले महिला एसिया कप खेल्ने
काठमाडौं : नेपालले एसीसी महिला एसिया कप २०२४ खेल्न पाउने भएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) मंगलबार एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपालले पनि खेल्न पाउने भएको हो।
सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेका थिए।
सन् २०१२ मा प्रत्येक दुईवर्षमा आयोजना गर्ने निर्णय अनुरूप टी-२० संरचनामा पहिलो पटक महिला एसिया कप खेलाइएको थियो।
गत फागुनमा सम्पन्न एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग चार विकेटले हारेपछि नेपालले एसिया कप खेल्ने अवसर गुमाएको थियो।
त्यो बेला एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्ने दुई टिम एसिया कपमा खेल्न योग्य हुने प्रावधान थियो, जसअनुरूप नेपाललाई हराएका मलेसिया र संयुक्त अरब इमिरेट्स एसिया कपमा चयन भएका थिए। नेपाल चयन नभई घर फर्केको थियो।
तर, अहिले आईसीसीको नयाँ निर्णयपछि नेपालसहित थाइल्याण्डले पनि एसिया कप खेल्न पाउने भएको छ।
नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्न लागेको हो। यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भएको थियो।
एसीसीले मंगलबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपाल कठिन समूह ‘ए’ मा छ। यो समूहमा उपाधि दाबेदार टिमहरू भारत र पाकिस्तानसँगै एसीसी महिला प्रिमियर कप विजेता युएई छन्।
उद्घाटनका दिन नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्नेछ। त्यसपछि जुलाई साउन ६ गते यूएईसँग र साउन ८ गते भारतसँग खेल्नेछ।
समूह बीमा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन्। यी दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा पुग्ने छन्।
चैत १४, २०८० बुधबार ०८:३०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।