'झगडा गरेर सत्ता गठबन्धन आफैं सकिन्छ, देशले कांग्रेसलाई आफैं सत्तामा पुर्याउँछ'

'झगडा गरेर सत्ता गठबन्धन आफैं सकिन्छ, देशले कांग्रेसलाई आफैं सत्तामा पुर्याउँछ'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त बताएका छन्।

मङ्गलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले देशले कांग्रेसलाई फेरि सत्तामा पुर्याउने दाबी गरेका छन्।

उनले काँग्रेसका लागि सत्ता ठुलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘नेपाली कांग्रेसका लागि सत्ता ठूलो होइन। पर्खेर बसौँ, कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्याउँछ। त्यसका निम्ति हतार नगरौँ। अहिले जुन गठबन्धन बनेको छ, त्यो गठबन्धन चीरस्थायी हुँदैन। चिरञ्जीवी हुँदैन। उहाँहरू आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ। तर नेपाली कांग्रेस सत्तामा जाँदै गर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो? भन्ने कुरा प्रष्ट हुनुपर्छ।’

प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत बताए।

 

चैत १३, २०८० मंगलबार १९:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।