उपनिर्वाचन इलाम -२ : माओवादीले पठायो ४ जना उमेदवार नाम
काठमाडौं : माओवादी केन्द्र इलामले उपनिर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ।
आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको लागि पार्टीको जिल्ला कमिटीले चार जना उम्मेदवारको नाम मंगलबार केन्द्रमा पठाएको हो।
सिफारिस हुने नेताहरूमा केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज धिरेन्द्र शर्मा, प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङ रहेको ईन्चार्ज शर्माले जानकारी दिए।
उपनिर्वाचनका लागि संघीय सत्ता गठबन्धनका दलहरूबीचमा सहकार्य गर्ने चर्चा सुरू भएपनि दलहरूले आआफ्ना उमेदवारहरू सार्वजनिक गरिरहेका छन्।
एमालेले सुवासचन्द्र नेम्वाङ पुत्र सुहाङलाई अगाडि बढाएको छ भने एकीकृत समाजवादीले तीन जनाको नाम सिफारिस गरिसकेको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उमेदवार बन्ने गाइँगुइँ हल्ला छ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो।
गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए।
चैत १३, २०८० मंगलबार १८:५१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।