गठबन्धनबाट साझा उमेदवार बन्न नपाएपछि झलनाथ 'ब्याक', एकीकृत समाजवादीका ३ उमेदवार सिफारिस

गठबन्धनबाट साझा उमेदवार बन्न नपाएपछि झलनाथ 'ब्याक', एकीकृत समाजवादीका ३ उमेदवार सिफारिस

काठमाडौं : आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र २ को लागि एकीकृत समाजवादीले तीन जना उमेदवारको नाम सिफारिस गरेको छ।

जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए।

संघीय सत्ता गठबन्धनभित्र एमालेले सुवासचन्द्र नेम्वाङपुत्र सुहाङलाई अगाडि सारिसकेको छ।

माओवादीले पनि आफ्नै उमेदवार उठाउने भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उमेदवार चयनको प्रक्रिया अघि बढाएको छ।

गठबन्धनभित्र साझा उमेदवार बन्न नपाउने भएपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चुनावबाट पछि सरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका खनाल यसअघि उम्मेदवार बन्ने चर्चामा थिए।

एमालेको बाटो पर्खेर बसेका खनालले एमालेले एकल उम्मेदवार घोषणा गरेपछि उनी पछि हटेका हुन्।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो।

गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए।

चैत १३, २०८० मंगलबार १८:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।