मोहम्मद आमिरद्वारा सन्यास फिर्ता, टी२० विश्वकपका लागि उपलब्ध हुने

एजेन्सी : पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले पाकिस्तान क्रिकेट बोर्डसँगको वार्तापछि आईसीसी टी२० विश्वकपका लागि फेरि मैदानमा फर्कने तयारी गरेका छन्।
आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए। ३१ वर्षीय फास्ट बलर हालै पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडिएटर्सबाट खेलेका थिए। उनले ९ खेलमा ८.४१ को इकोनोमी रेटमा १० विकेट लिए।
आमिरले सामाजिक सञ्जालमा पोस्ट लेख्दै टी२० विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘म अझै पनि पाकिस्तानका लागि खेल्ने सपना देख्छु। जीवनले हामीलाई यस्तो मोडमा ल्याउँछ, जहाँ हामीले आफ्ना निर्णयहरूमा पुनर्विचार गर्नुपर्छ। म र पीसीबी बीच केही सकारात्मक कुराकानी भयो। जसमा उनीहरूले मलाई सम्मानजनक महसुस गराउनुका साथै देशका लागि मेरो अझै आवश्यकता छ भने सोच्न बाध्य बनाए। मेरो परिवार र शुभचिन्तकहरूसँगको छलफलपछि म आगामी विश्पकपका लागि खेल्न इच्छुक र तयार रहेको जानकारी गराउन चाहन्छु।’
पाकिस्तान क्रिकेट बोर्डले सोमबार २९ खेलाडीलाई फिटनेस टेस्टका लागि बोलाउँदा मोहम्मद आमिरको पनि नाम समावेश गरेको छ।
चैत १३, २०८० मंगलबार ०९:००:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।