कोशी, मधेश, बागमती र गण्डकीमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं : पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण अहिले कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ।
दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशभर आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
चैत १३, २०८० मंगलबार ०७:१८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।