२८ दिन हिरासतमा बसेर शर्मिला वाइबा धरौटीमा निस्किइन्, मुद्दा सङ्ख्या चार पुग्यो

२८ दिन हिरासतमा बसेर शर्मिला वाइबा धरौटीमा निस्किइन्, मुद्दा सङ्ख्या चार पुग्यो

काठमाडौँ : कुटपिट र साइबर अपराधको अभियोगमा पक्राउ परेकी शर्मिला वाइबा २८ दिनको प्रहरी हिरासतको बसाइपछि अदालतबाट धरौटीमा रिहा भएकी छिन्।

सोमबार भएको थुनछेकको बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनलाई दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएका हुन्। सोमबार उनी धरौटीमा रिहा भएसँगै उनीमाथि विचाराधीन मुद्दाको सङ्ख्या चार पुगेको छ। यस अगाडि नै वाइबामाथि दुई पटक साइबर अपराधको अभियोगमा मुद्दा चलेर धरौटी निस्किएको थियो।

धरौटी निस्कनु भनेको सफाइ पाउनु हैन। कारागार बाहिर रहँदा भाग्ने सम्भावना नभएको, प्रमाण नष्ट गर्न सक्ने सम्भावना नरहेको र जाहेरीकर्तामाथि सुरक्षा जोखिम नभएको देखिएमा बाहिरै बसेर मुद्दा प्रक्रियामा सहभागी हुन कानुनले सुविधा दिएको छ। थुनामै राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने कि धरौटीमा छाड्ने भन्ने विषयमा सोमबार भएको थुनछेकको बहसमा एकल इजलासले धरौटीमा छाड्न आदेश दियो।

म्याकुरी उपनामले परिचित हास्य कलाकार पवन खतिवडाको जाहेरीका आधारमा उनीमाथि कुटपिट र साइबर अपराधमा जाहेरी दिएपछि महाराजगन्ज वृत्तको टोलीले फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो।

कुटपिट अंगभंगमा अदालतले १० हजार र साइबरसम्बन्धी अपराधमा २५ हजार धरौटी मागेपछि उनी धरौटी बुझाएर सोमबारै हिरासत मुक्त भइन्।

चैत १२, २०८० सोमबार २२:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।