दुई समलिङ्गी महिलाबीच प्रेम सम्बन्ध थियो, अनैतिक सम्बन्ध रहेको भन्दै घरगाउँलेले निर्घात कुटे

दुई समलिङ्गी महिलाबीच प्रेम सम्बन्ध थियो, अनैतिक सम्बन्ध रहेको भन्दै घरगाउँलेले निर्घात कुटे

काठमाडौं : कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित सोल्टाघयनकुरमा आफूलाई समलिंगी महिला बताउने राधिका विश्वकर्मा (नाम परिवर्तन)लाई परिवारका सदस्य र गाउँलेहरू मिलेर गरिएको निर्घात कुटपिटको घटनाप्रति चौतर्फी विरोध भएको छ।

चैत ११ गतेका दिन अर्को एक महिलासँगै बसेको आरोपमा विश्वकर्मा र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट एवं चरम यातना दिएको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक भएपछि मानवअधिकारवादी संस्थाहरूले उक्त घटनाको विरोध गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका पक्षमा आवाज उठाउँदै आएको नील हिरा समाजले घटनाको विरोध जनाउँदै तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एक व्यक्ति अर्को व्यक्तिसँगै बसेकै आधारमा न्यूनतम मानवीयता समेत नराखी सारा परिवार र गाउँलेहरू मिलेर निर्घात कुटपिट गरिनु कहाँसम्मको निर्लज्जता र घृणित कार्य हो? यस्तो घृणित र आपराधिक कार्यले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय मात्र नभइ, एक दलित र एक मानवमाथि क्रुर व्यवहार भएको हाम्रो ठहर छ।’

संविधानले यौनिक तथा अल्पसंख्यक समुदायको हकअधिकार सुनिश्चित गरेको भएपनि समाजमा यस्ता घटना दोहोरिरहनुले मानव अधिकार र संविधानको मर्ममाथि प्रहार गरेको संस्थाको ठहर छ।

‘नेपालको संविधानको धारा १२, धारा १८ र धारा ४२ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चित गरिएको छ। समुदायका व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत स्वतन्त्रतामा कुनै बन्देज नभएको कुरा संविधानले प्रष्ट पारेको छ। तर नेपाली समाज अझैपनि परम्परागत सोच र मान्यताबाट ग्रसित हुँदा यस्ता किसिमका हर्कतहरु दोहोरिरनुले मानव अधिकार र संविधानको मर्म माथि नै प्रहार भइरहेको नील हिरा समाजको निष्कर्ष छ। दुई महिलामाथि भएको कुटपिटको घटनाको घोर भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कडा कारवाही गर्न हामी जोडदार माग गर्दैछौं। साथै, पीडित व्यक्तिको तत्काल उद्धार गरी आवश्यक उपचार र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

समाजले राष्ट्रिय महिला आयोगलाई पत्र लेख्दै घटनाको छानबिन गर्न माग गरेको छ।

साथै, राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीको मानव अधिकार सेललाई घटनाबारे लिखित जानकारी गराएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन्।

अध्यक्ष गुरुङले भनिन्, ‘आफू समलिंगी महिला भएको र दुई जनाबीच प्रेम सम्बन्ध रहेका कारण उनीहरूमाथि निर्घात कुटपिट भएको छ। मानव अधिकार विरोधी घटना र हिंसाप्रति हाम्रो घोर आपत्ति छ।’

घटनाप्रति यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघले पनि आपत्ति प्रकट गरेको छ।

त्यस्तै, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि काम गर्दै आएको मायाको पहिचान नेपालले पनि घटनाको भर्त्सना गरेको छ।

पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिकालाई सुरक्षा प्रदान गर्न माग गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गरेर पन्तले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिकाको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिए।

नाबालिकामाथि परिवार र आफन्तबाटै कुटपिट भएको घटनाको निष्पक्ष छानबिन गर्न पन्तले माग गरेका छन्।

‘१७ र १६ वर्षका नाबालिकालाई भागी विवाह गरेको आरोपमा कपाल भुत्ल्याउने, लौरोले हान्ने मात्रै नभएर लात्तैलात्ताले कुटपिट गर्नु क्रूर अमानवीय व्यवहार हो,’ पन्तले भने, ‘सार्वजनिक रूपमा व्यक्तिको लैङ्गिकता तथा यौनिकताका आधारमा हिंसा हुँदा समेत छानबिन गरी दोषीलाई कानुनी कारबाही नगर्नु लज्जास्पद छ।’

लैङ्गिकता तथा यौनिकताबारे समाचार सम्प्रेषण गर्दा सामान्य मानव अधिकारमा ख्याल गरिदिनुहुन पनि मायाको पहिचान नेपालले आग्रह गरेको छ।

हिंसामा परेका नाबालिकालाई तत्काल सुरक्षासँगै अभिभावकलाई परामर्शको आवश्यकता देखिएकाले तत्काल यसमा ध्यान दिन नेपाल सरकारसँग मायाको पहिचान नेपालले माग गरेको छ।

सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा मानिसहरूको ठूलो समूहले सम्बन्धित व्यक्तिहरूलाई लछारपछार गर्दै लाठीले प्रहार गरिरहेको देख्न सकिन्छ।

 

 

 

 

 

चैत १२, २०८० सोमबार २१:३६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।