सचिवहरूलाई प्रधानमन्त्रीले भने : 'म पनि कानुन विपरीतको कुनै पनि काम गर्दिनँ, तपाईंहरू पनि नगर्नुस्'

सचिवहरूलाई प्रधानमन्त्रीले भने : 'म पनि कानुन विपरीतको कुनै पनि काम गर्दिनँ, तपाईंहरू पनि नगर्नुस्'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने प्रतिबद्धता जनाए।

उनले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताए।

'कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन', प्रधानमन्त्री प्रचण्डले भने, 'नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको छ।'

सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको भन्दै उनले भने, 'म आफू पनि राष्ट्र र कानुन विपरीतको कुनै पनि काम गर्दिनँ र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु।  जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्नेमा हामीले जोड दिनुपर्छ।'

प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए।

 

 

१२ चैत, २०८०, १७:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।