श्रीमानको दुई सय रुपैयाँ खुसुक्क झिकेर आत्मनिर्भर भएकी कमला
भक्तपुरको मंगलाछे(थुगुचो) मा एक नासले कपडा बुनेर बस्छिन्, कमला केसरी कर्माचार्य। घरमै सानो कारखाना खोलेकी उनले आफू जस्तै १५ जना गृहिणीहरूलाई रोजगार समेत दिइरहेकी छिन्। उनको कारखानामा धागो डल्लो पार्ने, मिलाउने, कपडा बुन्ने र बेच्नेसम्मको सबै काममा महिलाहरू नै छन्।
उनले यो काम गरेको ३० वर्ष भइसक्यो। भूकम्प अघिसम्म २० जना भन्दा बढी कामदारलाई व्यवस्थापन गर्दै आएकी उनले भूकम्पपछि भने जनशक्ति घटाउनु पर्यो। हाकुपटासी, साडीको किनारा, चोलो, किनारा र पटुकादेखि चकटीसम्म बन्न उनको कारखानामा। यसको लागि सबै धागो काँचो किनेर त्यसलाई रंग्याउन दिन्छिन्। अनि आवश्यकता अनुसारको सामान उत्पादन गर्छिन्।
'सबै काम हामी जान्दैनौ। रङ्ग लगाउन अरूलाई दिने हो। हामी त धागो काटेर कपडा बुन्ने मात्र हो,' उनी भन्छिन्, 'पोका-पोका धागो किन्नुपर्छ। धागो त अहिले असाध्यै महँगो भएको छ। पहिला २० हजार जतिको ल्याए पुग्थ्यो, अहिले त्यही धागोको ५० हजार पर्छ।'
एउटा कपडा बुन्न तीन/चार पोका धागो लाग्ने उनी बताउँछिन्। तर त्यो धागो कति मिटरको छ भन्ने उनलाई थाहा छैन।
भक्तपुरकै गोलमारीमा उनको माइती हो। जहाँ उनले आमा-बासँगै खेती गरेर बाल्यकाल बिताइरहेकी थिइन्। पहिलो महिनावारी भएपछि उनको बिहेको कुरा चल्यो। १३ वर्षमा परिवारले उनको बिहे गरायो। बाँकी बाल्यकाल उनले बिताउन पाइनन्। तीन कक्षा भन्दा बढी पढ्न पाइनन्।
श्रीमानको घरमा गएर उनी धेरै समय खुसी भएर बस्न सकिनन्। १६ वर्षको उमेरमा भागेर उनी अहिलेको श्रीमानसँग आइन्। त्यसपछि पनि उनी गृहिणी भएर नै बसिन्।
कलिलो उमेरकै उनलाई श्रीमानसँग पैसा माग्न अप्ठ्यारो लाग्थ्यो। १७ वर्षमा उनी आमा बनिन्। त्यसपछि उनको जीवन झन् सहज भएन, जिम्मेवारी बढ्यो। खेत र घरसँगै बच्चा पनि सम्हाल्नु पर्यो। त्यहिबेला एकदिन श्रीमानको खल्तीबाट खुसुक्क दुई सय रुपैयाँ निकालिन् अनि केही समय लुकाएर राखिन्।
त्यसमा ५० रुपैयाँ थपेर उनले पहिलो पटक दुई सय पचासको धागो किनेर डल्लो पार्दै कपडा बुन्न सिकिन्।
'त्यो बेलामा धेरै पढ्न पाएन। मेरो नाम त अझ लामो छ, तर कमला केसरी भन्दा अर्को भन्न पनि आउँदैन,' उनले हाँस्दै सुनाइन्, 'सधैँ बुढासँग किन पैसा माग्नु भनेर उनकै पैसा चोरेँ। मेरो पैसा खै भन्दैथे। ४-५ दिन चुप लागेर बसेँ। पछि उनले बिर्सिए भन्ठानेर मैले धागो किनेर काम सुरु गरेँ। अहिलेसम्म यही काम गरिरहेको छु।'
उनले काम सुरु गर्दा २२-२३ वर्षको थिइन्। एक पोका धागो किनेर घरकै कुनामा बसेर फुर्सदमा कपडा बुन्ने काम गरिन्। त्यसको महिना दिनपछि एउटा खास्टो तीन सय रुपैयाँमा बेचिन्। उनको जिन्दगीको पहिलो कमाइ अहिलेसम्म उनले बिर्सिएकी छैनन्। पछि बिस्तारै धागो थप्दै गइन्। अनि काम गर्न साथीहरू बटुल्दै गइन्।
'लोग्ने मान्छेलाई काम लगायो भने बढी पैसा माग्छन् भनेर महिलाहरू नै रोजेँ। अरू नभए पनि यतिले पुग्छ भनेर यही काम गरेको। सबै महिला नै महिला मात्र छन्। धेरै नभए पनि दिनमा दुई/तीन सय कमाउँछन्,' उनले भनिन्।
सबै महिलालाई उनी ठेक्कामा काम दिन्छिन्। अहिले उनी खेतीको समय बाहेक प्राय आफ्नै कारखानामा हुन्छिन्। दुई रोपनी पुर्ख्यौली जग्गामा खेती गर्दा तरकारी भने किन्न नपरेको उनी बताउँछिन्। खेत र कारखानामा खटेर काम गर्दै उनले सात जना सन्तानलाई राम्रोसँग पढाइन्।
'पहिला तीन वटा छोरी भए। बल्ल चार नम्बरमा छोरा भयो,' उनी भन्छिन्, 'एउटा मात्र छोरा भएपछि सम्हाल्न गाह्रो भयो। मात्तियो। अनि ल अझै एउटा छोरा पाउने भनेर पाउँदा अर्को पनि तीन जना छोरी भए। त्यसपछि त पाइन।'
‘काखभरि बच्चा बोकेर कपडा बुन्थे’
काखभरि बच्चा बोकेर कपडा बुन्ने काम गरेर उनले आफ्नो युवा अवस्था कटाइन्। पछि उनलाई बच्चाहरूले समेत काममा सहयोग गर्न थाले। स्कुलबाट फर्किएपछि सबै सन्तानले उनलाई सघाए।
सन्तानहरूले मेसिन चलाउँदा चोटपटक पनि लाग्थ्यो। त्यसबेला छोराछोरी हेर्न नसकेको भनेर श्रीमान् कराउँथे।
उनले गरिरहेको काममा शारीरिक श्रम धेरै नै लाग्छ। काम गर्दागर्दा कहिलेकाहीँ त शरीरै कक्रक्क पर्ने रहेछ। त्यो बेलामा धेरै गाह्रो हुने गरेको उनले सुनाइन्।
'दिनभरि एक ठाउँमा बसेर धागो डल्लो परेर काम गर्नुपर्छ। खुट्टा कक्रक्क हुन्छ। केही नहुनु भन्दा आफ्नो मिहेनतको थोरै कमाइ नै धेरै हो नि,' उनले भनिन्, 'तर म सधैँ गर्दिन। तीन दिन काम गर्यो भने बाँकी दिन त माइत जानुपर्छ, खेतमा जानुपर्छ। सबै आफैले भ्याउँदा त गाह्रो हुने रहेछ।'
श्रीमानको दुई सय रुपैयाँ लिएर सुरु गरेको काम अहिले कारखाना भैसकेको छ। तर आम्दानीमा भने खासै फरक नभएको उनले बताइन्।
'सानो कारखाना हो। तर एक/दुई लाखको सामान मैले बनाएँ। धागो नै ५० हजारको लाग्छ। तर त्यै अनुसारले कमाइ पनि बढेको भए राम्रो हुन्थ्यो,' उनले भनिन्।
उनको कारखानामा अहिले पनि पुरानो हाते मेसिन मात्र छ। विद्युतीय मेसिनसँग प्रतिस्पर्धा गर्न नसकेको उनलाई लाग्ने रहेछ।
'अर्को( विद्युतीय)मेसिनले दिनको दुई सय मिटर धागो निकाल्न सक्ने रहेछ। हामीले त धेरै बुने पनि दिनमा दस मिटर हो,' उनले भनिन्’सम्पूर्ण महिलाहरू हाते मेसिनबाट आफ्नो दुख, सुखको गफ गरेर बस्ने ठाउँ भएको छ कारखाना।‘
कपडा बुनेपछि कोही कारखानामै लिन आउँछन्। कसैलाई भने पसलमा पुर्याउन जानु पर्छ। बाँकी समय भने सिजन अनुसार उनको व्यापार हुन्छ। चाडबाड र जात्रा बाहेक अन्यमा व्यापार लगभग शून्य नै हुन्छ। तर काम भने कहिले पनि रोकिँदैन।
स्थानीय सरकारले आफ्नो जस्तो घरेलु उद्ध्योगलाई सहयोग गर्ने गरेको उनले थाहा पाए पनि त्यो लिन के गर्नुपर्छ थाहा रहेनछ। त्यसैले कतैबाट सहयोग पाएकी रहिनछन् उनले।
दस/पन्ध्र जना साथीहरू अझै पनि आफ्नो आसमा बसेकाले उनी केही चिन्तित भने छिन्। अनि केही आशावादी पनि।
'धेरै नभए पनि खान, लाउन सकेसम्म पुर्याएको छु,' उनले भनिन्, 'त्यै भएर अहिले यसलाई धेरै ठुलो बनाउने सोच छैन। तर अब जति सकिन्छ यहीलाई राम्रोसँग गर्छु भन्ने हो। बरु पछि सक्यो भने अझै जान्ने मान्छेहरूलाई पनि राख्ने हो। यो काम सक्यो भने त अलिअलि पैसा आउने ठाउँ पनि बन्द हुन्छ।'
चैत १२, २०८० सोमबार १५:४९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।