तिलोत्तमामा तीन दिनसम्म ‘प्रथम दलित ज्ञान उत्सव’ हुने

तिलोत्तमामा तीन दिनसम्म ‘प्रथम दलित ज्ञान उत्सव’ हुने

बुटवल : तिलोत्तमा नगरपालिका र दलित रीडरको सहकार्यमा ‘प्रथम दलित ज्ञान उत्सव’ हुने भएको छ।

आइतबार तिलोत्तमामा भएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका तर्फबाट दलित रीडरका सदस्य निशा हरिजनले चैत १४ देखि १६ गते तीन दिनसम्म उत्सव चल्ने जानकारी दिइन्।

उनले उत्सवमा सातै प्रदेशबाट दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा गैरदलित वुद्धिजीवि, पत्रकार, अभियन्तालगायत कलाकारहरूको सहभागिता रहने समेत बताइन्।

दलित तथा सीमान्तकृत समुदायका विभिन्न सामाजिक आन्दोलनहरूको उर्वर भूमि लुम्बिनीमा कार्यक्रमको आयोजना हुनु आफैँमा सामाजिक न्यायका लागि नयाँ अध्यायको शुरूवात हुने आयोजकको विश्वास छ।

उत्सवमा २० भन्दा बढी सेसन १०० भन्दाबढी वक्ताहरू तथा साङ्गीतिक प्रस्तुतिहरू हुनेछन्।

कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, संगीतकार तथा सांगीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा. शुरेश ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियारलगायत विशिष्ठ व्यक्तित्वहरूको सहभागिता रहने छ।

ज्ञान उत्सवको हरेक साँझ सांगितिक प्रस्तुति रहनेछ।

ज्ञान उत्सवको मुख्य विषय ‘नेपालमा जातीय अर्थतन्त्र’ हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला-साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा सम-सामयिक विमर्श हुनेछ।

हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क हुनेछ।

चैत १२, २०८० सोमबार १०:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।