उज्जैनको महाकाल मन्दिरको गर्भगृहमा आगलागी, १३ जना जले

उज्जैनको महाकाल मन्दिरको गर्भगृहमा आगलागी, १३ जना जले

एजेन्सी : मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा कम्तीमा १३ जना जलेका छन्।

होलीको भस्म आरतीमा रङ फाल्ने क्रममा आगलागी भएको भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

उज्जैनका जिल्ला अधिकारीका अनुसार आगलागीमा परी घाइते भएकाहरूलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

जिल्ला अधिकारी नीरजकुमार सिंहले भने, ‘भस्म आरतीका क्रममा आगलागी भएको हो। यस घटनामा १३ जना घाइते भएका छन्।’

घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो। गर्भगृहमा जलिरहेको दियोमा रङ पोखिएर आगो लागेको पुजारीले बताएका छन्।

पुजारी अनिश शर्माले भने, ‘महाकाल मन्दिर परिसरमा परम्परागत होली पर्व मनाइँदै थियो। रङको प्रयोगका कारण गर्भगृहमा आगलागी भएको छ। मन्दिरका पुजारी घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल लगिएको छ।’

महाकाल त्यहि मन्दिर हो, जहाँ भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरूले धोतीपाटा फेरेर नेपालबाट लगेको १०८ केजी रुद्राक्ष चढाए विशेष पूजा गरेका थिए।

१२ चैत, २०८०, ०९:२७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।