ट्राफिक प्रहरीको होली विशेष चेकिङ : ७८४ सवारी होल्ड, मापसे र लापसे गरी सवारी चलाउने १४७ जना नियन्त्रणमा

ट्राफिक प्रहरीको होली विशेष चेकिङ : ७८४ सवारी होल्ड, मापसे र लापसे गरी सवारी चलाउने १४७ जना नियन्त्रणमा

काठमाडौं : फागु पूर्णिमा (होली)लाई लक्षित गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरेको छ।

होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङको क्रममा सवारी साधनलाई होल्ड गरिएको  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

होली पर्व मनाउने बहानामा मोटसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उल्लंघन गर्ने ७६९ दुई पाङ्ग्रे र १५ ओटा चार पाङग्रे सवारी साधन होल्ड भएका हुन्।

जसमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ३५ जना चालक रहेका थिए। होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछि चालकले ट्राफिक नियम उल्लघंन गरेअनुसारको उल्लेखित कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए।

होली पर्वलाई नै लक्षित गरी आजैनेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा आएका सबैजनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको छ।

फागु पूर्णिमालाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई कडाइ गरेकाले सवारी दुर्घटनामा कमी आएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले  बताए।

चैत १२, २०८० सोमबार ०८:३२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।