१३७ जनाको मृत्यु हुनेगरी मस्कोमा भएको आक्रमणका चार आरोपीलाई आतंकवादको मुद्दा चलाउँदै रुस

१३७ जनाको मृत्यु हुनेगरी मस्कोमा भएको आक्रमणका चार आरोपीलाई आतंकवादको मुद्दा चलाउँदै रुस

एजेन्सी : मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा कम्तीमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणका चार संदिग्ध आक्रमणकारीविरुद्ध रुसले मुद्दा चलाएको छ।

सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए। सबैलाई आतंकवादको आरोप लगाइएको छ।

यी चार अभियुक्तहरूको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ हुन्।

सार्वजनिक भिडियोमा प्रहरीले तीन जना अभियुक्तलाई आँखामा पट्टी बाँधेर रुसको राजधानी बसमेनी जिल्ला अदालतमा लैजाँदै गरेको देखिन्छ। सबै अभियुक्त घाइते अवस्थामा छन्।

इस्लामिक स्टेट समूहले शुक्रबार क्रोकस सिटी हलमा आक्रमण गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको थियो।

यसैबीच रुसी अधिकारीहरूले कुनै प्रमाणविना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन्। तर युक्रेनले भने यी दाबीहरूलाई बेतुक भनेको छ।

बन्दुकधारीहरूले क्रोकस सिटी हलमा कन्सर्ट आयोजना गर्ने क्रममा आक्रमण गरेका थिए। अन्धाधुन्ध गोली चलाएपछि उनीहरूले हलमा आगजनी गरेका थिए । यस आक्रमणमा कम्तीमा १४० जना घाइते भएका छन्।

१३७ जनाो मृत्युको शोकमा रुसमा आइतबार एक दिन शोक मनाइयो। राष्ट्रिय झण्डा आधा झुकाइयो भने पूर्वनिर्धारित अधिकांश कार्यक्रमहरू रद्द वा स्थगित भए।

चैत १२, २०८० सोमबार ०७:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।