गुजरातसँग ६ रनले हार्यो मुम्बई, तोड्न सकेन ११ वर्षदेखिको जितको खडेरी
काठमाडौं : इन्डियन प्रिमियर लिगको तेस्रो खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग ६ रनले पराजित भएको छ।
गुजरातले दिएको १६९ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा पनि भेट्टाउन सकेन। योसँगै मुम्बईले ११ वर्षदेखि आईपीएलको पहिलो खेलमा निकाल्न नसकेको जितको खडेरी पनि तोड्न सकेन।
यसअघि आईपीएलमा मुम्बईले आफ्नो पहिलो खेल सन् २०१३ मा मात्र जितेको थियो। त्यसयता उसले आफ्नो पहिलो खेलमा जित निकाल्न सकेको छैन।
मुम्बईका लागि पूर्वकप्तान रोहित शर्मा र इम्प्याकय प्लेयर डेवाल्ड ब्रेभिसले क्रमशः ४३ र ४६ बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
नमान धिरले २०, तिलक बर्माले २५, डिम डेभिड र कप्तान हार्दिक पाण्ड्याले समान ११-११ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन।
एक समय सहजै जितको अवस्थामा देखिएको मुम्बईको पारीलाई गुजरातका बलरहरूले डेथ ओभरमा ध्वस्त पारे।
गुजरातका लागि अजमतुल्लाह ओमरजाइ, उमेश यादव, मोहित शर्मा र स्पेन्सर जोनसनले समान दुई–दुई विकेट लिँदा साइ किशोरले एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको गुजराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो।
उसका लागि साइ सुदर्शनले सर्वाधिक ४५ रन बनाउँदा कप्तान शुभमन गिल ३१, राहुल टेबाटिया २२, ह्रिद्दिमान शाह १९, अजमतुल्लाह ओमरजाइ १७, डेभिड मिलर १२ रन जोडे।
विजय शंकर र रशिख खान क्रमशः ६ र ४ रनमा अविजित रहे।
मुम्बईका जसप्रित बुमराहले तीन, जेराल्ड कोट्जीले दुई तथा पियुस चावलाले एक विकेट लिए।
आईपीएल अन्तर्गत नै आजै पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लुरु भिड्दैछन्। दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।
बैंग्लुरुले पहिलो खेल चेन्नई सुपर किंग्ससँग हारेको थियो भने पञ्जाबले घरेलु मैदानमा दिल्ली क्यापिटल्सलाई चार विकेटले हराएको थियो।
खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
चैत १२, २०८० सोमबार ०७:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।