विशाल भण्डारीले मापसे गरेर चलाउँदा कार दुर्घटना, घाइतेको उपचार खर्च ब्यहोर्ने सर्तसहित हाजिर जमानीमा छुटे

विशाल भण्डारीले मापसे गरेर चलाउँदा कार दुर्घटना, घाइतेको उपचार खर्च ब्यहोर्ने सर्तसहित हाजिर जमानीमा छुटे

काठमाडौं : दुई दिनदेखि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारीसहित दुई जना हाजिर जमानीमा छुटेका छन्।

भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा रहेका उनीहरूलाई शनिबार हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

कमेडी च्याम्पियनको टिम चढेको  कार दुर्घटनामा परेर सामान्य घाइते भएका निर्देशक भण्डारी र पुजन अधिकारीलाई घाइतेका परिवारसँग सहमति गरी छाडिएको डिएसपी पाठकले जनाए। सहमतिअनुसार निर्देशक भण्डारीले घाइतेको सबै उपचार खर्च ब्यहोर्नुपर्ने छ।

गत बिहीबार बिहान साढे ३ बजे भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटना भएको थियो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई टिपरमा ठोक्किँदा ६ जना घाइते भएका थिए।

दुर्घटनामा कमेडियन सुशान्त बस्याल गम्भीर भएका थिए। उनको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ।

उनको अहिले स्वास्थ्यको सुधार भइरहेको अस्पताललाई उद्धृत गर्दै डिएसपी पाठकले बताए।

कारमा सवार रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई पनि घाइते भएका थिए। मापसे गरी सवारी चलाउँदा दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको डिएसपी पाठकले बताए।

कार निर्देशक भण्डारीले चलाएको बताइएको छ।

चैत ११, २०८० आइतबार १३:१६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।