परराष्ट्रमन्त्री नारायणकाजीको नौ दिने चीन भ्रमणमाथि सत्ताधारी दलकै नेताको ब्यङग्य 'मन्त्रीको कि ज्वाईँको भ्रमण !'

परराष्ट्रमन्त्री नारायणकाजीको नौ दिने चीन भ्रमणमाथि सत्ताधारी दलकै नेताको ब्यङग्य 'मन्त्रीको कि ज्वाईँको भ्रमण !'

काठमाडौँ  : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार बेलुका नौ दिन लामो यात्रामा चीन जाँदै छन्। श्रेष्ठ आज आइतबार राति ११ बजे चीनको भ्रमण गएर चैत १९ गते फर्किने छन्।

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेका उनको लामो चीन बसाइप्रति सामाजिक सञ्जालमा प्रश्नहरू उठिरहेका छन्।

भू राजनीतिक स्वार्थका आधारमा गठबन्धन बदलिएको दाबीहरुकाबीच परराष्ट्रमन्त्रीको पहिलो चीन भ्रमण त्यो पनि नौ दिनको हुनुले गठबन्धन बदलिनुमा भूराजनीतिक स्वार्थ हाबी भएकोमा थप शङ्का बढाउने नै भयो।  

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यो बाहेकका अन्य भेटघाट र भ्रमण परराष्ट्रमन्त्रीका रूपमा त्यति महत्वको देखिन्न। अन्य आठ दिन श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा चीनका उच्चस्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गरेर बिताउने छन्।

परराष्ट्रमन्त्रीको समकक्षी भनेको चीनको परराष्ट्रमन्त्री नै हुन्। उनी चीनको विदेशमन्त्रीकै पाहुनाका रूपमा चीन जान लागेका हुन्। तर अधिकांश समय प्रान्तमा बिताउने छन्।

एकै देशमा विदेशमन्त्री नौ दिन बिताउनु अस्वाभाविक भन्दै सामाजिक सञ्जालमा प्रश्नहरू उठिरहेका छन्। सत्ताधारी दल एमालेकै नेताहरूले समेत उनको यति लामो भ्रमको कारण के हो भन्दै प्रश्न उठाइरहेका छन्। एमाले नेता विष्णु रिजालले ट्विट गर्दै लेखेका छन् 'कति फुर्सद हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई? चीनको भ्रमणमा नौ दिन खर्चिनुपर्ने के रहेछ? दुनियाँले के भन्छ होला? अलिकति त ख्याल गर्नुपर्ने होइन र?

एमाले नेतृ कोमल वलीले सामाजिक सञ्जालमा लेखिन्' कुनै देशको परराष्ट्रमन्त्री नेपाल आएर नौ दिन बसेको होला? छ भने भन्नुस् त हजुर। कि ससुराली हुनुपर्यो। हाम्रा ज्वाइँ दागं आएर तीन-पाँच दिन बस्छन् भने यसैबाट थाहा हुन्छ हाम्रा मन्त्रीहरू कति फुर्सदिला छन्।

चैत ११, २०८० आइतबार १०:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।