होली पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ : प्रधानमन्त्री

होली पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

आइतबार होली पर्वको सन्दर्भमा शुभकामना सन्देशमार्फत् प्रधानमन्त्री प्रचण्डले होलीले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघुलनलाई प्रतिनिधित्व गर्ने दाबी गरेका हुन्।

‘पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होलीपर्व)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु।’

असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको बताए।

उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको बताउँदै प्रत्येक जातजाति र धर्मावलम्बीका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको समेत उल्लेख गरे।

‘हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन्। समुदायलाई एकताबद्ध गर्न सघाउँछन्। विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्’, शुभकामना सन्देशमा उनले भनेका छन्।

११ चैत, २०८०, १०:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।