'होली पर्वले आपसी रिस, राग परित्याग गरी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्'
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
होली पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने अपेक्षा गरेका हुन्।
उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याओस् भन्दै शुभकामना व्यक्त गरे।
‘नेपालीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु।’
चैत ११, २०८० आइतबार ०९:४८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।