राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई
काठमाडौँ : तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन्।
हाफ म्याराथनको पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरेका थिए। उनले नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीलाई ९ सेकेन्डले पछि पारेका थिए। पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान जिते।
१ घण्टा ७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तीर्थ पुन तेस्रो भए। आर्मीका नरेन्द्र रावलले १ घण्टा ८ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै चौथो भएका थिए। खडक बहादुर खड्काले १ घण्टा ८ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै पाँचौँ बने।
महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै प्रथम बनिन्। नेपाल पुलिसकी राममाया बुढाले १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गरेकी थिइन्।
एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा पूरा गरेर तेस्रो भइन्। आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २३ मिनेट २० सेकेन्डमा पूरा गरेर चौथो भइन्। एपीएफकी फुलमती रानाले १ घण्टा २५ मिनेट १७ सेकेन्डमा पूरा गर्दै पाँचौँ बनेकी थिइन्।
हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौँले ३० हजार प्राप्त गरे।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शनिवार सुरु भएको हाफ म्याराथन भक्तपुरको राधे राधे पुगेर सोही रुटबाट फर्किएको थियो।
१० किलोमिटर पुरुषतर्फ खुल्ला प्रतिस्पर्धामा आर्मीले प्रथमदेखि पाँचौँ सबै उपाधि जित्यो। मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवास कार्की चौथो र श्रीकाश राई पाँचौँ बनेका थिए।
पाँच किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सिर्जना पाण्डेय प्रथम, राजपुरा दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौँ बनिन्।
स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशिष् कुमार क्षेत्री पाँचौँ भएका थिए।
ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौँ भए।
ह्विलचियर महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम, यामी झाँक्री मगर दोस्रो, रजनी राई तेस्रो, पेमा गुरुङ चौथो र वविता थापा पाँचौँ भइन्।
प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनले म्याराथन आयोजना गर्दै आएको छ।
चैत ११, २०८० आइतबार ०९:३०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।