'कांग्रेसको भन्दा आधा कम सीट भएको माओवादीलाई प्रधानमन्त्री स्वीकार्ने नै अचम्मको विषय थियो'

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूहरूलाई सत्तामा जान कुनै हतार नभएको बताएका छन्।
शनिबार दाङमा एक कार्यक्रममा उनले कांग्रेसले अब संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्दै नयाँ सत्ता समीकरण भत्काउन नलाग्ने बताए।
उनले भने, ‘अहिले हामीलाई सत्तामा जाने कुनै हतारो छैन। सत्तामा जान अप्राकृतिक प्रपञ्च गर्न जरुरी छैन। हामीले कसैलाई अस्वाभाविक रुपले कुर्सी दिएर सत्तामा जाने कोसिस गरिरहेका छैनौं। हामीलाई परिस्थितिले नै सत्तामा लान्छ। यो गठबन्धन आफैं ढल्छ, अर्को बन्ने गठबन्धनबाट कांग्रेस सत्तामा जान्छ। जनता र परिस्थितिको चाहनाअनुसार हुन्छ। त्यसैले हामीलाई अहिले हतारो छैन।’
प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले माओवादीको बेइमानीका कारण तत्कालीन गठबन्धन तोड्नु परेको बताए।
उनले कांग्रेसको सीटभन्दा आधा कम भएको माओवादीलाई प्रधानमन्त्री स्वीकार्नु नै अचम्मको विषय भएको बताए।
उनले भने, ‘माओवादीका अध्यक्ष तेस्रो दलको नेता हो संसदमा। हामीले उहाँलाई प्रधानमन्त्रीमा समर्थन गरिराख्दा पनि उहाँले कांग्रेसको समर्थनलाई लत्याएर नयाँ गठबन्धन गर्नुभयो। हामी प्रष्ट ढंगले भन्छौं, बेइमानी माओवादी र प्रचण्डको हो। हाम्रो रोदन होइन वास्तविकता हो। कांग्रेसको सीटभन्दा आधा कम भएको पार्टी हो माओवादी। त्यसैले कांग्रेसले माओवादीको नेतृत्वलाई प्रधानमन्त्री स्वीकार्ने नै अचम्मको विषय थियो।’
उनले प्रश्न उठिसकेपछि छानबिन स्वतन्त्र र निष्पक्ष बनाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषय उठाएको स्पष्ट बनाए।
उनले भने, ‘अहिलेको अवस्थाले निष्पक्ष छानबिनलाई प्रभावित पार्छ भन्ने हाम्रो बुझाइ हो। फेरि प्रधानमन्त्रीले गठबन्धन तोड्दै गर्दा कसैमाथि प्रश्न उठेको छ भने त्यसलाई मन्त्रिमण्डलमा ल्याउँदैनौँ भन्नुभएको थियो। हामीले अहिले उहाँको राजीनामा भनेको होइन। राजीनामा दिने र नदिने उहाँको नैतिकताको विषय हो। हामीले छानबिन हुनुपर्छ, छानबिन प्रभावित हुनु हुँदैन भनेका हौं। संसदीय छानबिन गर्नु उहाँको लागि पनि राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो।’
चैत १०, २०८० शनिबार २१:४६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।