'अहिले ट्रेलर देखाउन मात्र सरकारमा गएका हौं, ०८४ मा रास्वपाका सबै मन्त्री बन्छन्'

'अहिले ट्रेलर देखाउन मात्र सरकारमा गएका हौं, ०८४ मा रास्वपाका सबै मन्त्री बन्छन्'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरै जना मन्त्री बन्ने बताएका छन्।

शनिबार वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिले ट्रेलरका रूपमा केही मन्त्री बनेको र फिल्म आउन बाँकी नै रहेको बताए।

उनले अहिले आम नेपालीलाई ‘सर्भिस डेलिभरी’को खाँचो रहेकोले पनि पार्टी सरकारमा गएको उल्लेख गरे।

अहिले आर्थिक सङ्कट, विकृतिका चाङ रहेको बेला टिममा काम गर्नुको विकल्प नरहेको उनको भनाइ छ।

उनले भने, ‘कहीँ आशा छ भन्ने कुरा हामीले जनतालाई स्थापित गर्न सक्नैपर्छ। अहिले ७६१ वटा सरकार मध्ये रास्वपा जम्मा एउटा सरकारमा मात्र छ। बाँकी त्यत्रा सरकार खाली छ। मिसन ८४ मा केही नभए पनि ४ सय वटा सरकारमा रास्वपा हुनुपर्छ भन्ने सन्देश लिएर जानुपर्छ।’

युवा तथा खेलकुदमन्त्री समेत रहेका श्रेष्ठले सोमबारदेखि आफ्नो मन्त्रालयले एक्सन थाल्ने बताए।

मन्त्रालय सम्हाल्दा बेथिति नै बेथितिको पहाडमा बसेको जस्तो अनुभूति हुने गरेको बताउँदै उनले समस्या समाधान गर्न पुगेको बताए।

उनले राष्ट्रिय खेलकुद परिषद् राजनीतिक नियुक्तिले विकृतिको अखडा बनेको बताउँदै राजनीतिक खेलका लागि पनि भाग छुट्याउनुपर्ने अवस्थामा रहेको बताए।

मन्त्री श्रेष्ठले भने, ‘हामीले खेलकुद मन्त्रालयमा धेरै काम सुरु पनि गरेका छौं। अब सोमबारदेखि धेरै एक्सनहरू पाउनुहुनेछ। त्यो पनि गर्दैछौं। गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको कुराहरू गर्नुभएको छ। खेलकुदमा पनि स्काउटका धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन् मान्छेहरू। पैसा पनि नदिने, अदालतमा मुद्दा हाल्ने र स्टे अडर लिएर निःशुल्क जस्तो चलाइरहेका छन्। राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ।’

चैत १०, २०८० शनिबार १६:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।