विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा निम्तो

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरेका छन्।
बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुनले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका हुन्।
औपचारिक रूपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रूपमा पनि निम्तो दिएका हुन्।
जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए।
अर्थमन्त्रीले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उनले दिए।
सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको भन्दै विश्व बैंकसहित विकास साझेदार बताउँदै अर्थमन्त्री पुनले विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। तेश्रो लगानी सम्मेलन आगामी ०८१ वैशाख १६ र १७ गते काठमाडौंमा हुँदैछ।
चैत १०, २०८० शनिबार १३:२०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।