लोकसभा निर्वाचनमा बिजेपी उम्मेदवारविरुद्ध कांग्रेसबाट उठ्दै स्वरा भास्कर

लोकसभा निर्वाचनमा बिजेपी उम्मेदवारविरुद्ध कांग्रेसबाट उठ्दै स्वरा भास्कर

मुम्बई : बलिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन्। अभिनयबाहेक उनी हरेक मुद्दामा खुलेर कुरा राख्छिन्। यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छिन्।

समाचार अनुसार कांग्रेस मुम्बईले स्वरालाई लोकसभाको टिकट दिने योजना बनाएको छ। यद्यपि कांग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि गरेका छन्।

स्वराका पति फहद अहमद समाजवादी पार्टीका नेता हुन्। त्यहीकारण पनि स्वरा पतिको राजनीतिलाई पछ्याउन भित्री तयारी गरिरहेकी छन्। कांग्रेसले स्वरालाई मुम्बईको उत्तर-मध्य सिटबाट लोकसभाको टिकट दिने तयारी गरेको छ। यो सिटमा बिजेपीकी पुनम महाजन सांसद छिन्।

स्वरा यतिबेला कांग्रेसका ठूला नेताको सम्पर्कमा छिन्। स्वरा प्रायः बीजेपीको नीतिको विरोध गरिरहन्छिन्। उनले सीएएको विरोधमा आयोजित एक जनसभामा भाग लिएकी थिइन्। उनी कांग्रेस नेता राहुल गान्धीको भारत-जोडो न्याय यात्रामा समेत देखिएकी थिइन्।

स्वराले समाजवादी नेता फहदसँग सन् २०२३ को फेब्रुअरीमा विवाह गरेकी थिइन्। उनीहरूको एक छोरी छन्। स्वरा र फहदको पहिलो भेट सन् २०१९ मा एक प्रदर्शनका समयमा भएको थियो । त्यसपछि उनीहरु नजिकिन थालेका थिए।

चैत १०, २०८० शनिबार १३:००:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।