चाँदबागको नाममा रहेको बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोतको निर्णय

काठमाडौँ : बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। सरकारले मालपोत ऐनको प्रयोग गर्दै बाँसबारी छाला जुत्ताको नामबाट निजी कम्पनीको नाममा पुगेको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो।
च्याम्पियन्स फुटवेयरहुँदै अहिले चाँदबाग रेसिडेन्सीको नाममा रहेको १० रोपनी जग्गा सरकारको नाममा गर्ने निर्णय मालपोत कार्यालय डिल्लीबजारले गरेको हो।
अध्ययनमा सरकारी जग्गा निजी कम्पनीको नाममा गर्न मन्त्रीपरिषद्को सहमति र स्वीकृति भएको नदेखिएको भन्दै सरकारले जग्गा आफ्नो नाममा ल्याउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए।
डिल्लीबजार मालपोत कार्यालयले बाँसबारीमा रहेको कित्ता नम्बर १६ र कित्ता नम्बर ५८ मा रहेको जम्मा १० रोपनी जग्गा मालपोत ऐन अनुसार नेपाल सरकारको नाममा ल्याउने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए।
मालपोत कार्यालयले सो जग्गा सरकारीकरण गर्ने प्रक्रिया अगाडि बढाएपछि चौधरी समूह अदालत गएको थियो। यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो जग्गाबारे गरिरहेको अनुसन्धान जारी नै छ। बुधबार र बिहीबार ब्यूरोले वसन्त चौधरी र विनोद चौधरीसँग बयान लिएको थियो।
बयानमा विनोदले सो जग्गा आफ्नो बाबुको पालामा कानुन अनुसार कम्पनीको नाममा आएको दाबी गरेको सार्वजनिक भएको थियो।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यको सम्पत्ति विभिन्न तरिकाबाट व्यक्तिको नाममा लैजाने काम प्रशस्त देखिएको र प्रमाण भेटिएका जग्गाहरू सरकारीकरण गर्ने अभियान सुरु गरेको बताए।
चैत ९, २०८० शुक्रबार १७:२०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।