सरकार फेरिनेबित्तिकै खारेज हुन्छ भूमि आयोग : कांग्रेसनिकट निरौला अध्यक्ष भएको आयोग खारेज

सरकार फेरिनेबित्तिकै खारेज हुन्छ भूमि आयोग : कांग्रेसनिकट निरौला अध्यक्ष भएको आयोग खारेज

काठमाडौं : सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो।

आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरण थालेको थियो।

आयोगको अध्यक्षमा केशव निरौला थिए भने उपाध्यक्ष नहेन्द्र खड्का थिए। निरौला नेपाली कांग्रेसनिकट हुन् भने खड्का माओवादी केन्द्र हुन्।

२०७८ साउनमा गठन भएको आयोगलाई खारेज गर्दै सरकारले नयाँ आयोग बनाउन लागेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

शुक्रबार मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराउँदै शर्माले भनिन्, ‘नियमावलीमा भएको व्यवस्थाअनुसार यो सिधै पुनर्गठन गर्ने टाइपको हुँदो रहेनछ। त्यसकारणले गर्दा भूमि आयोग फेरि तुरुन्तै गठन हुन्छ। सम्भवतः अर्को क्याबिनेट बैठकबाट गठन हुन्छ।’

त्यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७७ वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दै केशव निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको थियो।

चैत ९, २०८० शुक्रबार १७:०३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।