पुरुषको तुलनामा महिला न्यायाधीशको मुद्दा कम विवादमा : कानुन मन्त्री गिरी

पुरुषको तुलनामा महिला न्यायाधीशको मुद्दा कम विवादमा : कानुन मन्त्री गिरी

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा कम विवादमा आउने गरेको बताएका छन्।

ललितपुरमा शुक्रवारबाट सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई बोल्दै उनले महिला न्यायाधीशहरूले न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय सम्पादन गर्ने अनुभव भएको बताए।

कानुन अध्ययन गर्ने महिलाहरूको सङ्ख्या उल्लेख्य रहेको बताउँदै उनले महिलाहरूलाई न्याय क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए।

‘अध्ययनको क्षेत्रबाटै महिलाहरूलाई कानुन क्षेत्रमा लाग्न प्रोत्साहन गर्न सकिएन भने एकै पटक सर्वोच्चमा मात्र न्यायाधीश खोजेर पाउन सकिन्न’ उनले भने’ यसका लागि सबैको प्रयास आवश्यक छ।‘

उनले सुशीला कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रूपमा पाउनु गर्वको विषय भएको बताउँदै कार्कीको कार्यकाल गर्व लायक रहेको बताएका थिए।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरूलाई निश्चित रूपमा कार्यान्वयन गर्न र कानुनहरू निर्माण गर्न सरकारले प्राथमिकता दिएर काम गरिरहेको गिरीले बताएका थिए।

चैत ९, २०८० शुक्रबार १४:१३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।