व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता गर्नु आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता गर्नु आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव

काठमाडौं : सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन २०२४ आजबाट ललितपुरमा शुरू भएको छ।

सम्मेलनको उद्घाटन गरेका उप-प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सकको संख्या बढाएर व्यवस्थित सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताए।

शुक्रबार ललितपुरमा आयोजित सम्मेलनमा स्वास्थ्य मन्त्री यादवले कोरोना महामारी तथा प्राकृतिक विपत्तिको समयमा नेपालमा सबैभन्दा धेरै आपतकालिन चिकित्सा सेवाको उपयोग भएको स्मरण गर्दै त्यसको महत्वलाई भूल्न नसकिने बताए।

कोभिडको समयमा जनरल स्वास्थ्य चिकित्सकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको र त्यसलाई भुल्न नसकिने यादवको भनाइ छ।

यादवले सम्मेलनको सफलताको लागि शूभकामना दिँदै सामान्य अभ्यास र आपतकालीन चिकित्सा सम्बन्धी सम्मेलनले निकालेको निष्कर्षलाई स्वास्थ्य मन्त्रालयले महत्वको साथ लिने बताए।

मन्त्री यादवले भने, ‘हामीले सामान्य अभ्यास कर्ताकहरूको संख्या बढाएर सेवा प्रवाहलाई अझ व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता हो। यो कुरालाई स्वास्थ्य मन्त्रालयले बुझेको छ। तपाईंहरूले सम्मेलनबाट जुन निष्कर्ष, सुझावहरू दिनुहुनेछ। त्यो मन्त्रालय र तपाईंहरूका लागि महत्वपूर्ण हुनेछ।’

यादवले सम्मेलनको ‘सामान्य अभ्यास र आपतकालीन औषधिको समन्वयनः राम्रो भविष्यको लागि स्वास्थ्य सेवाहरू परिवर्तन’ भन्ने नारा यर्थाथमा परिणत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा मनोनित डा.चोपलाल भुसालले आपतकालीन चिकित्सा सेवा प्रवाहसँगै विशेषज्ञ सेवा सबै जिल्ला अस्पतालहरुमा विस्तार र व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

चैत ९, २०८० शुक्रबार १३:३३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।