गणतन्त्र आएपछि २८ सय मेगावाट विद्युत् उत्पादन भइसक्यो : ऊर्जामन्त्री बस्नेत
काठमाडौं : ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो काम भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन्।
उनले यो व्यवस्था आएपछि नै ऊर्जा क्षेत्रमा तुलनात्मक रूपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत उत्पादन हुने दाबी गरे।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले देश खत्तम भयो, विकास नै भएन र नेपालमा केही पनि सम्भावना छैन भन्ने युवा मानसिकतालाई चिर्नुपर्ने बताए।
व्यवस्था परिवर्तनसँगै गणतन्त्र स्थापनापछि सकारात्मक परिवर्तनहरू भैरहेको बताएका उनले ऊर्जा क्षेत्रमा पछिल्लो समय राम्रो प्रगति भएको उल्लेख गरे।
१९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट,२०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा ०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत् उत्पादन गरेको र नेपालमा सकारात्मक रूपमा विकास भैरहेको भन्दै उनले आगामी ४ महिनामा थप ५ देखि ६ सय मेगावाट उर्जा उत्पादन हुने दाबी गरे।
बस्नेतले भने, ‘अहिले २९ सय मेगावाट विद्युत उत्पादन भएको छ। अबको तीन देखि चार महिना भित्रमा हामी अर्को ३४ देखि ३५ सय मेगावट विद्युत पुर्याउँदै छौँ। त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय मेगवाट विद्युत उत्पादन भैसकेको छ।’
नेपालमा ऊर्जा विकासको तत्थांकलाई हेर्दा अहिले सबैभन्दा धेरै ऊर्जा उत्पादन भएको धारणा राखेका मन्त्री बस्नेतले उल्लेखित ऊर्जा उत्पादनको तथ्यले पनि देश बर्बादीतिरु भन्दा निर्माणतिर गैरहेको बताए। उनले आगामी १२ वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुने जिकिर गरे।
चैत ९, २०८० शुक्रबार १२:२६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।