अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच भर्चुअल बैठक, माथिल्लो अरुण र दूधकोशी आयोजनाबारे छलफल

अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच भर्चुअल बैठक, माथिल्लो अरुण र दूधकोशी आयोजनाबारे छलफल

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ।

छलफलमा पाँच वर्षका लागि नेपाल र बैंकबीचको साझेदारी खाका निर्माण एवं माथिल्लो अरुण जलविद्युत आयोजना र दूधकोशी जलासययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको थियो।

अर्थमन्त्री पुन यसअघि ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री भएका बेला ‘गेम चेन्जर’ आयोजनाका रूपमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणको काम अघि बढेको थियो।

हिउँद याममा समेत बढी विद्युत उत्पादन हुने आकर्षक आयोजनाका रूपमा माथिल्लो अरुण आयोजनालाई लिइएको छ।

सर्वसाधारणलाई समेत सेयर दिने गरी विश्व बैंकको सहुलीयतपूर्ण ऋण तथा नागरिक लगानी कोष, विभिन्न स्वदेशी बैंक तथा सर्वसाधारणको मिश्रित लगानीमा नेपाल प्राधिकरणको सहायक कम्पनीमार्फत उक्त आयोजना निर्माण गर्ने निर्णय भएको छ।

त्यसका लागि प्राधिकरणले अपर अरुण जलविद्युत लिमिटेड स्थापना गरेको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माण भई परामर्शदाता समेत छनौटा गरिसकिएको उक्त आयोजनाका लागि विश्व बैंकको नेतृत्वमा वित्तिय व्यवस्थापनको टुंगो आगामी असारभित्रै लगाउने तयारी छ।

हिउँदमा दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी आयोजनाको डिजाइन तयार भएको छ। आयोजनाको अनुमानित लागत १ अर्ब ३८ करोड अमेरिकी डलर (हालको सटही दरअनुसार करिब १ खर्ब ६१ अर्ब रुपैयाँ)  छ। जसमध्ये ७० प्रतिशत विदेशी र ३० प्रतिशत स्वदेशी लगानी रहने लगानी मोडल तयार गरिएको छ।

उक्त आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ। दूधकोशी नदीमा जलासय निर्माण गरी खोटाङको रावाबेसी गाउँपालिका-३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका-६ भदौरेस्थित र भुँवाघाटमा ६ सय ३५ मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना छ।

एसियाली विकास बैंकको नेतृत्वमा विश्व बैंक, नागरिक लगानी कोष र सर्वसाधारणको लगानीमा उक्त आयोजना निर्माण गर्न लागिएको हो।

छलफलमा एसियाली विकास बैंकका नेपाल निर्देशक आर्नो कोश्वा, विश्व बैंकका उपाध्यक्ष त्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेन तथा अन्तर्राष्ट्रिय वित्त निगम(आईएफसी)का प्रतिनिधिसमेत सहभागी थिए।

बैठकमा नेपालबाट अर्थमन्त्री पुनका साथै सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, सह-सचिवद्वय उत्तरकुमार खत्री र रितेशकुमार शाक्य तथा डिसीबाट अर्थसचिव कृष्णहरि पुष्कर, सह-सचिव श्रीकृष्ण नेपाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए।

चैत ९, २०८० शुक्रबार १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।