१७औं संस्करणको इण्डियन प्रिमियर लिग आजबाट : छ टिममा नयाँ कप्तान, उद्घाटन खेलमा बैंग्लोर र चेन्नई भिड्दै
एजेन्सी : १७औं संस्करणको इण्डियन प्रिमियर लिग(आईपीएल) आजबाट शुरू हुँदैछ।
संस्करणको उद्घाटन खेल चेन्नईको चेकपस्थित एमए चिदम्बरम स्टेडियममा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दैछन्।
खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुँदैछ। पाँच उपाधि जितेको चेन्नई आईपीएलमा अहिलेसम्मकै सफल टिममध्ये एक हो।
चेन्नईले अहिलेसम्म पाँच आईपीएल उपाधि उचाल्दा रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि चुम्न सकेको छैन।
छ टिम नयाँ कप्तानले सम्हाल्दै
यस सिजन आईपीएलका दशमध्ये छ टिमलाई नयाँ कप्तानले नेतृत्व गर्दैछन्।
महेन्द्रसिंह धोनीले कप्तानी छाड्दा रुतुराज गायकवाडले चेन्नईको टोली सम्हाल्दैछन्।
मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएर हार्दिक पाण्ड्यालाई नेतृत्व दिएको छ।
पाण्ड्या मुम्बई गएपछि टिमले शुभमन गिललाई सक्षम ठानेर कप्तानको जिम्मेवारी सुम्पिएको छ।
खतरनाक कार दुर्घटनाका कारण गतवर्षको आईपीएल गुमाएका ऋषभ पन्तले यसपटक दिल्ली क्यापिटल्सको कप्तानी सम्हाल्दैछन्। गतवर्ष दिल्लीलाई डेभिड वार्नरले सम्हालेका थिए।
केही वर्षदेखि चोटसँग संघर्ष गर्दै आएका श्रेयस अय्यरलाई कोलकता नाइटराइडर्सले कप्तानीको दर्जा दिएर टिममा भित्र्याएको छ। गत वर्ष टिमको नेतृत्व नितिश राणाले गरेका थिए।
यस्तै सनराइजर्स हैदरावादले पनि आफ्नो कप्तान परिवर्तन गरेको छ। गत सिजन कप्तान रहेका मार्करमले राम्रो प्रभाव छाड्न नसकेपछि यसपटक अष्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई टोलीले कप्तानको जिम्मेवारी दिएको हो।
आईपीएल २०२४ को उद्घाटन समारोहमा गायक एआर रहमान, सोनु निगम र बलिउड अभिनेता अक्षय कुमार, टाइगर श्राफले प्रस्तुति दिने भएका छन्।
उद्घाटन समारोह नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा सुरू हुने बताइएको छ।
चैत ९, २०८० शुक्रबार ०८:५५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।