भारतबाट हुने मासुजन्य पशुपन्छीको तस्करी रोक्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ : गृह मन्त्रालयले भन्सार छली नियन्त्रणलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन जारी गरेको छ।
पछिल्लो समय नेपाल-भारत खुल्ला सीमाबाट भन्सार छलेर कुखुरा, राँगा तथा खसी लगायतका मासुजन्य पशुपन्छीको तस्करी बढेको छ।
गृहमन्त्रीको मन्त्रीयस्तरिय निर्णयबाट जारी भएको २१ बुँदे निर्देशनमा फरक विजक जारी गरेर भन्सार पार गरी ल्याएका वा भित्री नाकाहरूबाट नेपाल भित्र्याइने खाद्यवस्तुहरू खासगरी माछा, कुखुरा, कुखुराका चल्ला, विषादीयुक्त तरकारी, पाउडर दूध, गाई भैँसी, खसी बोकाहरू नियन्त्रण गर्न भनिएको छ।
निर्देशनमा सीमा क्षेत्रमा अवैध तस्करी गर्ने र राजश्व हिनामिना गर्ने व्यक्ति तथा समूह र स्थानमा विशेष निगरानी गर्ने, सूचना सङ्कलन र शंकास्पद क्षेत्रमा सुरक्षा परिचालन गरेर व्यक्ति तथा समूहका गतिविधि निस्तेज गर्न भनिएको छ।
राजश्व चुहावट नियन्त्रण सम्बन्धमा जिल्ला भित्र राजश्व सङ्कलन गर्ने निकायका प्रमुख एवं जिल्ला भित्रका उद्योगी व्यापारीहरू र राजनीतिक दलसँग आवधिक रूपमा छलफल तथा अन्तरक्रिया गरी/गराई जिल्लाभित्र राजश्व चुहावट नियन्त्रणका लागि सहकार्य गर्न समेत निर्देशन दिइएको छ।
यसैगरि राजश्व छली भित्र्याइएका सामानहरू राख्ने गोदाम घरहरूका बारेमा सूचना सङ्कलन गरी सम्बन्धित निकायहरूसँगको सहकार्यमा खानतलासी लिन समेत भनिएको छ।
प्राकृतिक स्रोत साधनको संरक्षण गर्न र कानुनसम्मत उपयोगको व्यवस्था मिलाउन प्रभावकारी अनुगमन र अनुचित तथा गैर कानुनी दोहन वा अतिक्रमण गर्ने विरुद्ध छानबिन तथा अनुसन्धान गर्न समेत भनिएको छ।
अनुचित लेनदेन, लघुवित्त, सहकारी संस्थासँग सम्बन्धित वित्तीय/गैर वित्तीय प्रकृतिका ठगी सम्बन्धी अपराधको सूचना सङ्कलन तथा विश्लेषण गर्न, त्यस्ता घटनाको छानबिन, अनुसन्धान गराई यस्तो कार्यमा संलग्न व्यक्ति, समूह उपर प्रचलित कानुन बमोजिम कारबाईको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
चैत ८, २०८० बिहीबार १९:१५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।