नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौँ : यो साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अङ्कले गिरावट आएको छ। यस दिन नेप्से परिसूचक १५.३७ अङ्कले घटेर २०४८.५७ विन्दुले घटेको हो। बुधवार ३.३४ अङ्कले घटेर २०६३.९५ विन्दुमा पुगेको थियो।

नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। यस दिन ४ अर्ब ३१ करोड ३० लाख बढीको कारोबार भएको छ। बुधवार ३ अर्ब ४९ करोड ६२ लाख रुपैंया बराबरको कारोबार भएको थियो।

यसदिन कारोबारमा आएको २ सय ४४ कम्पनीहरूमा ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने, १ सय ८७ कम्पनीको मूल्यमा गिरावट आएको छ। त्यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर छ।

कारोबार आएको कम्पनीहरूमा धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै, सर्वोत्तम सिमेन्टको सेयर निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

गत मङ्गलवारदेखि कारोबारमा आएको यस कम्पनीको सेयर मूल्य यस दिन ७ सय ३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यसदिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यसदिन माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। यसैका कारण यसदिन कारोबार रकम बढ्न पुगेको हो। यस दिन गोर्खाज फाइनान्सको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार व्यापार उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

चैत ८, २०८० बिहीबार १७:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।