महाजात्रालाई रिलिजको दिन हलवालाहरूको बम्पर साथ, कमजोर फिल्म भए हुनसक्छ यही ब्याक फायर
काठमाडौँ : शुक्रवार रिलिज हुने फिल्म’महाजात्रा’ ले पहिलो दिन दुई सय ७७ शोज् पाएको छ। ‘जात्रा’, ‘जात्रैजात्रा’ कै प्रिक्वेल महाजात्राले पछिल्लो समय रिलिज भएका फिल्महरूमध्ये पहिलो दिनमै सबैभन्दा उच्च शोज्हरु पाएको हो।
दुई सय ७७ शोजको राम्रो अकुपेन्सी भएमा फिल्मको ओपनिङ व्यापार नै एक करोडमाथि हुनसक्छ। तर अग्रिम टिम बुकिङ गर्ने एपहरूमा बिहीबार मध्यान्हसम्म ३० प्रतिशत हाराहारीमा टिकट बुकिङ भएको देखिन्छ।
फिल्मको ट्रेलरले समेत दर्शक आकर्षित भएको देखिन्छ। प्रिक्वेलमा सबै पुराना कलाकारकाबीचमा हरिवंश आचार्य मिसिदा फिल्मले राम्रै हाइप बनाएको देखिन्छ। तर प्रिमियरमा फिल्म हेरेका दर्शकहरुबाट आएको प्रतिक्रियामा आचार्यको 'मोग्याम्बो' शैलीको भिलियनको क्यारेक्टरलाई दर्शकले स्विकार्न अली कठिन देखिन्छ।
स्विकार्न नसके फिल्मको सबैभन्दा कमजोर पक्ष नै यही हुनसक्छ। जसले आचार्यसँगको भट्टराइको सहकार्यमा जोखिम पनि देखियो।
शुक्रवार ‘महाजात्रा’ रिलिजहुँदा हलमा एक्लो नेपाली फिल्म भने हुनेछैन। तेस्रो हप्तामा प्रवेश गर्ने अगस्त्य २० शोज्सहित हलमा टिकिरहेको छ। हलमा रङ्गेली र उपहारले पनि २० शोज् बढी शोज्हरु पाइरहेको छ। 'महाजात्रा' कमेडी जनाराको फिल्म हो। शुक्रवार रिलिज हुने हिन्दी फिल्म 'म्याडगाउँ एक्सप्रेस' पनि कमेडी जनराकै फिल्म हो।
‘जात्रा’ बाट निर्देशक प्रदीप भट्टराईले राम्रो प्रशंसा पाएका थिए। तर ‘जात्रैजात्रा’ मा आइपुग्दा उनले 'जात्रा'को गुणस्तर कायम गर्न सकेका थिएनन्। मुख्य कलाकारको अभिनयमा ध्यान दिएका उनले कमेडी मिसाउनेक्रममा छानिएका अन्य कलाकारहरू सिकारु हुँदा फिल्म किरकिर लाग्ने बनेको थियो। कथ्य शैलीमा उनले रोचकता थप्न सकेका थिएनन् भने दर्शक मनोटोनस दृश्य टन्नै समेटेका थिए।
भट्टराइले 'जात्रा' मनले अनि 'जात्रैजात्रै' दिमाग लगाएर बनाएको दाबी गर्ने गरेका छन्। ‘महाजात्रा’ मा मन र दिमाग दुवै लगाएर कमजोरी सुधारेको हो भने ओपनिङ दिन पाएको शोज्हरुले निरन्तरता पाउन सक्छ। फिल्म कमजोर भएमा पहिलो दिन हल पुग्ने धेरै दर्शकबाट आउन सक्ने नकारात्मक प्रतिक्रियाले अन्य फिल्मको शोज् बढ्न सक्छ।
चैत ८, २०८० बिहीबार १४:४४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।