५८ प्रतिशत मतसहित रक्षामन्त्री प्राबोवो सुब्यान्टो इन्डोनेसियाको भावी राष्ट्रपति बन्ने पक्का

५८ प्रतिशत मतसहित रक्षामन्त्री प्राबोवो सुब्यान्टो इन्डोनेसियाको भावी राष्ट्रपति बन्ने पक्का

काठमाडौं : इन्डोनेसियाका रक्षामन्त्री तथा पूर्व सैन्य अधिकारी प्राबोवो सुब्यान्टो देशको भावी राष्ट्रपति हुने भएका छन्।

विश्वको तेस्रो ठूलो लोकतन्त्रको राष्ट्रपति पदका लागि गत फेब्रुअरी १४ मा भएको मतदानमा सुब्यान्टोले ५८ दशमलव ५९ प्रतिशत मत प्राप्त गरेका थिए।

उनका दुवै प्रतिद्वन्द्वी अनीस बास्वेदनले २५ प्रतिशत र गञ्जर प्रणोभोले १६ प्रतिशत मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगले नतिजा सार्वजनिक गरेपछि सुब्यान्टोले भने, ‘हामीलाई भोट नदिनेहरूले एक मौका दिएका छन्। हामी इन्डोनेसियाका जनताको हितका लागि कडा परिश्रम गरेर काम गर्ने राष्ट्रपति र उपराष्ट्रपति हौं भनेर प्रमाणित गर्नेछौं।’

तर, उनका दुवै प्रतिस्पर्धी अनीस बास्वेदन र गञ्जर प्रणोभोले यो नतिजालाई चुनौती दिने घोषणा गरेका छन्। ७२ वर्षीय प्राबोवो सुब्यान्टोलाई सेनामा कार्यरत हुँदा धेरै मानवअधिकार उल्लङ्घनको आरोप लागेको थियो।

तर, राष्ट्रपति चुनावको प्रचारका क्रममा उनले सामाजिक सञ्जालमा आफ्नो छवि सुधार्न निकै मेहनत गरेका थिए । उनको अभियानमा युवाहरुलाई आकर्षित गर्न धेरै प्रयास गरिएको थियो।

प्रबोवो सुब्यान्टोले यसै वर्षको अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोबाट यो पदको जिम्मेवारी सम्हाल्नेछन्। इन्डोनेसियाका २० करोड ५० लाख मतदातामध्ये ८० प्रतिशतले १४ फेब्रुअरीमा मतदान गरेका थिए।

चैत ८, २०८० बिहीबार १४:०८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।