फिल्म ‘अगस्त्य’ को लगानी उठेको दाबी गर्दै निर्माताले भने’ सबै कुरामा पैसामा मात्र जोडिँदैन’

फिल्म ‘अगस्त्य’ को लगानी उठेको दाबी गर्दै निर्माताले भने’ सबै कुरामा पैसामा मात्र जोडिँदैन’

काठमाडौँ : फिल्म निर्माण टिमले उच्च आशा गरेको तर कथा कथ्य शैलीको मारमा परेर दर्शक निराश भएको फिल्म ‘अगस्त्य च्याप्टर वान’ ले लगानी उठाएको निर्माणपक्षले दाबी गरेको छ।

फागुन १८ मा रिलिज भएको फिल्मको निर्माण पक्षबाट आयोजित पत्रकार सम्मेलनमा निर्माता अनीश तामाङले विश्व बजारबाट फिल्मको लगानी उठेको दाबी त गरे तर उनले ‘सबै कुरामा पैसामा मात्र जोडिँदैन। दर्शकले हामीलाई साथ दिनुभयो,यो ठुलो कुरा हो’ भनेर आम्दानी भन्दा पनि दर्शकको माया पाएर खुसी भएको बताए। फिल्म लगातार दुई हप्ता दैनिक ३० शोको दरले चलेको थियो। 

सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारहरूको अभिनय थियो। कलाकारहरूले फिल्म हेरेर दर्शकहरूबाट आएको प्रतिक्रियाबाट आफूहरू उत्साहित रहेको बताएका थिए।

फिल्मका निर्देशक सौरभ चौधरीले आफूले राम्रो फिल्म बनाए पनि फिल्म क्षेत्रका केही व्यक्ति र समीक्षकहरूले भने नकारात्मक प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा रोइलो गर्दै आएका थिए।

पत्रकार सम्मेलनमा उनले दर्शककै कारण आफूले खुसी साट्न पाएको बताएका थिए। उनले पत्रकार सम्मेलनमा ‘अगस्त्य’का निर्मातासँग मिलेर नयाँ फिल्म बनाउने र त्यसपछि ‘अगस्त्य: च्याप्टर २’को काम सुरु गर्ने उनले बताए।

चैत ८, २०८० बिहीबार १३:४७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।