बाँसबारी जग्गा प्रकरणमा विनोदको बयान 'कानुन अनुसार बाबुको पालामा आएको जग्गामा मेरो सलग्नता छैन’

बाँसबारी जग्गा प्रकरणमा विनोदको बयान 'कानुन अनुसार बाबुको पालामा आएको जग्गामा मेरो सलग्नता छैन’

काठमाडौँ : बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिगत बनाएको आरोपमा बयान दिन गएका सांसद तथा उद्यमी विनोद चौधरीले आफ्नो बाबुको पालामा कानुन अनुसार जग्गा आएको दाबी गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोहुँदै जिल्ला सरकारी वकिलको कार्यालयमा गएर बयान दिएका उनले गैर कानुनी रूपमा सरकारी जग्गा नहडपेको र बुबाकै पालामा कानुनी रूपमा सो जग्गा कम्पनीको नाममा आएको दाबी गरेका हुन्। उनले सो जग्गाबारे आफ्नो कुनै भूमिका नभएको दाबी गर्दै बयान दिएको सरकारी वकिल कार्यालयस्रोतले बतायो।

बुधवार संसद् सचिवालयमा नेपाली कांग्रेसबाट सांसद रहेका चौधरीबारे अनुसन्धान भइरहेको जानकारी पत्र पठाएर ब्युरोले बिहीबार बिहानै चौधरीलाई बयानका लागि बोलाएको थियो। ब्युरोले बुधवार विनोदका भाइ तथा उद्यमी वसन्त चौधरीसँग बयान लिएको थियो।

ब्युरोको कार्यालयमा पुगेका उनलाई ब्युरो टोलीले बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको थियो। त्यहाँ उनीसँग जग्गासँग जोडिएका विषयमा करिब दुई घण्टा लामो बयान भएको थियो। बयान सकिएर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाँसबारी जग्गाको विषयमा राजनीतिकरण भएको दाबी गरेका थिए।

 उनले यस्ता गतिविधीले नेपालका उद्यमी र करदातामा गलत सन्देश जाने भन्दै स्टन्ट गर्नेहरुलाई आफ्नो चारित्रिक प्रमाणपत्र बुझाउनु नपर्ने बताएका थिए। उनले आफ्नो परिवार १ सय ४० वर्षदेखि देशका विभिन्न भागमा परियोजना सञ्चालन गरिरहेको भन्दै १० रोपनी जग्गामा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज भएको दाबी गरेका थिए।

 ‘४५ वर्षको लामो अनुभवको आधारमा, उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष र सीएनआईको पूर्वअध्यक्षको हैसियत र विचारकको हैसियतले मैले अहिलेसम्म विकासको राजनीति गरेँ। दलगत राजनीतिमा सक्रिय भइन, दलहरुका बीचका मतभेदमा सरिक भइन’ उनले भने।

 ब्युरोले माघ १८ गते विनोद चौधरीका कान्छा भाइ अरूण चौधरी, चाँदवाग रेसिडेन्सी प्रालिका प्रमुख सञ्जय ठाकुर र बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो। पक्राउ परेका तीनै जना जिल्ला अदालत काठमाडौँको आदेशमा हाजिर जमानीमा छुटिसकेका छन्।

चैत ८, २०८० बिहीबार १२:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।