बाँसबारी जग्गा प्रकरणमा सिआइबीमा विनोद चौधरीको बयान

बाँसबारी जग्गा प्रकरणमा सिआइबीमा विनोद चौधरीको बयान

काठमाडौं : बाँसबारी छाला जुत्ताको १० रोपनी सरकारी जग्गा व्यक्तिगत बनाएको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद तथा व्यवसायी विनोद चौधरीसँग बयान लिएको छ।

ब्युरोले बुधबार संसद् सचिवालयलाई चौधरीबारे अनुसन्धान गरिरहेको पत्र पठाएर बिहीबार बिहानै बयान लिएको हो।

ब्यूरोले सरकारी जग्गा हिनामिना आरोपमा अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरेको थियो।

माघ १८ बाट अनुसन्धान थालेको ब्युरोले सरकारी जग्गा व्यक्तिको नाममा देखिएको भन्दै सरकारको नाममा ल्याउन मालपोत कार्यालयलाई पत्र पठाएपछि चौधरी अदालत गएका थिए।

यसै प्रकरणमा ब्युरोले बुधवार वसन्त चौधरीसँग बयान लिइसकेको छ। बाँसबारीको जग्गा च्याम्पियन्स फुटवेयरहुँदै प्राली मातहत ल्याएको खुलेपछि सरकारी जग्गा दुरुपयोगमा ब्युरोले छानबिन थालेको थियो।

नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा नै थालिएको अनुसन्धान सत्ता समीकरण बदलिएसँगै सुस्त भएको थियो। संसद्मा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीका बचतकर्ताको रकम ठगीको अनुसन्धानको दायरामा रहेको भन्दै राजीनामा र संसदीय छानबिन समिति गठनका लागि दबाब बढायो।

सुन तस्करी छानबिन आयोगको प्रतिवेदनको हवालादिँदै सरकारले ब्युरो प्रमुख किरण बज्राचार्यलाई हटाएर श्याम ज्ञवालीलाई ल्यायो।

लामिछानेले बाँसबारी प्रकरणको अनुसन्धान अगाडि बढाउन र चौधरीसहितको बयान लिन ब्यूरो नेतृत्वलाई निर्देशन दिएका थिए।

चैत ८, २०८० बिहीबार १०:०८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।