नेपाली क्रिकेटलाई सघाउने आईसीसी अध्यक्षको प्रतिबद्धता
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेले नेपाली क्रिकेटलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै अध्यक्ष बार्कलेले यसअघि पनि आफूहरूबीच सहकार्य भइरहेको स्मरण गर्दै भविष्यमा थप सहकार्य गर्दै अघि बढ्ने बताए।
‘नेपालको क्रिकेटलाई आईसीसीले हेरिरहेकै छ। हामी कसरी नेपाली क्रिकेट अगाडि बढ्छ भन्नेमा सघाउँदै आइरहेकै छौं,’ उनले भने, ‘भविष्यमा पनि आइसीसीले गर्न सक्ने सहकार्यलाई निरन्तरता दिने नै छ।’
नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको भन्दै उनले खेलकुद परिषद्, खेलकुद मन्त्री र प्रधानमन्त्री क्रिकेटको विकासमा सकारात्मक हुनु सुखद् विषय भएको बताए।
उनले थपे, ‘सबैजना क्रिकेटप्रति सकारात्मक पाएँ । नेपाली क्रिकेटको प्रगतिप्रति आशावादी हुन सकिन्छ।’
त्यस्तै, पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी अध्यक्षको भ्रमणले सकारात्मक सन्देश प्रवाह भएको बताए।
उनले भने, ‘नेपाल सरकार क्यान पनि प्रेरित भएको छ । हामीमा खेलकुदका संरचनाको विकास र खेलाडीको क्षमता विकासका लागि ऊर्जा मिलेको छ।’
नेपाल भ्रमणका क्रममा अध्यक्ष बार्कलेले प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गरेका थिए। भेटमा प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाल आशावादी रहेकाले पूर्वाधारमा लगानी बढाएको जानकारी गराएका थिए ।
चार दिने औपचारिक भ्रमणमा नेपाल आएका आईसीसी अध्यक्ष बार्कले बिहीबार फर्कँदैछन्।
चैत ८, २०८० बिहीबार ०७:१५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।